धरान: धरान २ स्थित वाणिज्य बैंकले दैनिकरुपमा सेवा प्रवाह नगर्दा सेवाग्राही सर्वसाधारणहरुले सास्ती खेप्न बाध्य भएका छन् ।

बैंकको शाखा कार्यालय दिन बिराएर सातामा ३ दिन मात्र खुल्ने गरेको छ । खुलेको दिनमा पनि दिउँसो १ बजेसम्म मात्र सेवा प्रवाह गर्ने गरेको गुनासो सर्वसाधारणहरुको छ । दैनिक सेवा प्रवाह नहुदा बैंकमा अत्यन्तै भिडभाड हुने र दिउँसो १ बजेसम्म पनि पालो नआउदा निराश भएर फर्कनुपर्ने बाध्यता रहेको सेवाग्राही सुमित कार्कीले बताए । उनले भने,‘म पनि आज बैंकमा पैसा झिक्न आएको हो । तर, दिउँसो १ बजेसम्म मात्र खुल्छ । आज पालो आएन भने त फेरि अर्को पटक आउनुपर्ने झञ्झट हुन्छ ।’

banijya-bank6

दैनिकरुपमा बैंक नखुल्दा भिड धेरै हुने र सामाजिक दुरी पनि कायम नभएकोले जोखिम रहेको छ । बैंकमा मेन गेटबाट नै टोकन प्रणाली लागु गरेको छ । तर, टोकन लिन नै मानिसहरुको भिड लाग्छ । टोकन लिए पछि घण्टौं पर्खनुपर्छ । जबकी बैंक ३ घण्टाको लागि मात्र खुल्छ । ‘दिनहुँ बैंक खुले त यस्तो भिडभाड नि कम हुन्थ्यो नि । वृद्धवृद्धाहरु पेन्सन थाप्न यही आउछन्, उहाँहरुलाई धेरै गाह्रो हुन्छ,’उनले भने,‘मेरो पालो आउन डेढ घण्टा समय लाग्छ भन्यो, आज नपाउला जस्तो छ, फेरि पर्सि लाइन बस्न आउनु ? म त आउला, तर वृद्धवृद्धाहरुलाई कति हैरानी, दुःख हुन्छ ।’

banijya-bank2

बैंकका शाखा प्रबन्धक हरिबाबु आचार्यले केन्द्रीय कार्यालयको नीति र निर्देशन अनुसार नै दिन बिराएर मात्र सेवा दिइएको बताए । उनले आजदेखि भने एक घण्टा समय थप गरेर २ बजेसम्म सेवा दिइने पनि जानकारी दिए । दैनिकरुपमा बैंक नखुल्दा सेवाग्राहीहरुलाई समस्या भइरहेको स्वीकार गर्दै उनले केन्द्रमा रिपोर्टिङ गरिसकेको पनि आचार्यको भनाई छ । ‘सेवाग्राहीहरुलाई समस्या भइरहेको मैले पनि देखिरहेको छँु, केन्द्रमा रिपोर्टिङ पनि गरेको छुँ,’उनले भने,‘तर अस्ति नगरपालिकामा छलफल हुदा बैंकहरु खुलेर भिडभाड बढायो भन्ने कुरा पनि उठ्यो । यता व्यवसायीहरुले चै बैंक खोल्नुपर्छ भन्ने पनि छन् । जनतालाई पनि पैसाको खाँचो भएर नै हो, हामी पनि गम्भीर नै छौं ।’

भिडियो/फोटो स्रोत: सुमित कार्की