इटहरीः हप्तामा दुइ दिन मात्र खुल्दै आएका इटहरीका बैँक सार्वजनिक बिदा बाहेक पनि खुल्ने भएका छन् । पन्ध्र दिन अघि इटहरीका बैंकका व्यवस्थापकहरुको एक टोलीले इटहरीका मेयर र उपमेयरलाई भेटेर बैंकको भिडले जोखिम बढाएको भन्दै हप्तामा दुइ दिनमात्र खोल्ने अनुमती दिन आग्रह गरेका थिए ।
सोहि आग्रहबमोजिम हप्तामा दुुइ दिनमा मात्र बैंक खुुलेपनि सेवाग्राही मारमा परेका थिए । घण्टौँ लाइनमा बसेर सेवा लिन बाध्य सेवाग्राहीको गुनासो बढेपछि उपमहानगरगरले बैकलाई बोलाएर तुरुन्तै पहिलेकै अवस्थामा सेवा सुचारु गर्न निर्देशन दिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मि गौतमले जानकारी दिइन् ।
गौतमका अनुसार आइतवार इटहरीका बैँकका व्यवस्थापकहलाई कार्यालयमा बोलाएर नागरिकले दुख पाएको विषयमा छलफल भएको र पहिलेकै अवस्थाबाट सेवा प्रवाह गर्न भनिएको छ ।
‘म आँफैले बैँकमा हेर्दा नागरिकको ठुलो भिड देखें’ गौतमले भनिन् ‘ठुला बैँकहरुलाई बोलाएर अस्ति तपाइहरुको अभ्यास हेरियो, त्याे असफल भयो अब सबै दिन खोल्नुस् भनेर माइन्यूट गराएका छौँ ।’ सबै दिन खोल्ने नगरको आग्रहलाई बैँकहरुले निश्चित समय मात्र खोल्न पाउने माग गरेका थिए । तर, उपमेयर गौतमले बैंक आएका सबै नागरिकले सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर समेत सतर्कता गराएको जानकारी दिइन् ।