धरान:  सुनसरी उद्योग वाणिज्य संघले बजारलाई तीन तहमा वर्गीकरण गरेर खोल्न प्रस्ताव गरेको छ ।

सोमबार विभिन्न वस्तुगत संघका प्रतिनिधि एवं जनप्रतिनिधिहरुसँगको छलफलमा संघले यस्तो प्रस्ताव गरेको हो । कार्यक्रममा संघका प्रजम उपाध्यक्ष शिवराज श्रेष्ठले बजार खोल्ने मोडालिटी प्रस्तुत गरेका थिए । उनले बजारमा १४ देखि ५९ वर्षसम्मका स्वस्थ्य व्यक्तिले मात्र प्रवेश पाउनु पर्ने र पसललाई २ तहमा वर्गीकरण गर्नुपर्ने प्रस्ताव गरेका थिए । उनले बिग्रने सामान बिक्री गर्ने पसललाई बिहान ६ बजेदेखि ९ बजेसम्म र नबिग्रने वस्तुको पसललाई दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न प्रस्ताव गरेका थिए । यस्तै, मोटरसाइकललाई पनि जोर विजोर प्रणालीमा सञ्चालन गर्न र धरान बजार छिर्ने नाकाहरुमा सुरक्षा चेकपोष्ट स्थापना गर्नुपर्ने पनि प्रस्ताव गरेका थिए ।

छलफलमा धरानका मेयार तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने धारणा व्यक्त गरे । कोभिड १९ सँग सतर्क रहदै सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पनि उनले आग्रह गरेका थिए । यसको लागि संघको सहभागितामा एउटा टिम तयार गर्ने र बजार कसरी खोल्ने भन्ने मोडल तयार गर्ने पनि मेयर राईले बताए । साथै उनले कर निर्धारण र रात्रीकालीन बजार सञ्चालनको लागि समेत अब छलफल गरिने बताए । उपमेयर मन्जु भण्डारी सुवेदीले व्यवसायी र स्थानीय सरकारको नङ र मासुको सम्बन्ध रहेको बताइन् । उनले व्यवसायी बिना सरकार र सरकार बिना व्यवसायी चल्न नसक्ने भनदै पसल खोल्ने क्रममा कसैलाई काखा कसैलाई पाखा नगरिएको पनि बताइन् । सामाजिक दूरी र सुरक्षा संयन्त्रलाई मध्यनजर गर्नुपर्नेमा उनले जोडदिइन् ।

संघका अध्यक्ष गिरिधारी सापकोटको अध्यक्षतामा आयोजित कार्यक्रममा सौन्दर्यकला व्यवसायी संघका सचिव नेबिका शाहीले सौन्यर्दकला व्यवसायीलाई पनि पीपीई उपलब्ध गराउनुपर्ने माग गरिन् । उनले ब्यूटिसियनको पेशा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भन्दै स्थानीय सरकारले व्यूटिशियनलाई पीपीई उपलब्ध गराउनु पर्ने तथा बाहिरबाट आई व्यवसाय गरेका सौन्दर्यकला व्यवसायीलाई राहतको समेत आवश्यकता भईसकेको बताइन् ।

udhyo-market

संघका कार्यसमिति सदस्य विष्णु बरालले व्यवसायीहरुले सञ्चालन गरेको पसलको घरभाडा छुटबारे घरवालाहरुको प्रतिनिधिलाई समेत सहभागी गराई उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघसमेत समिति गठन गरेर छलफल गर्न आग्रह गरेका थिए । उनले धरानका कुनै ४ वटा वडालाई नमूना वडाको रुपमा लिई बजार खोल्न र राष्ट्रमै नमूना शहरको रुपमा बजार खोल्ने नगर बनाउन आग्रह गरे ।

सुनसरी सुनचा“दी व्यवसायी संघका अध्यक्ष किसन मास्केले पहेलो धातु व्यवसाय अब १ वर्षसम्म नचल्ने भएकोले व्यवसायीलाई सरसफाई दोहोरो कर र व्यवसाय कर छुट गर्न आग्रह गरे । संघका सदस्य नविनराज भण्डारीले धरानमा उपमहानगरको स्वामित्वमा रहेको खाली जग्गामा टहरा निर्माण गरि उपमहानगरपालिकाले आम्दानीको श्रोत वृद्धि गर्नुपर्ने बताए ।

संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा संयुक्त व्यापार एकता संघका अध्यक्ष्ँ रामकुमार दास, धरान मदिरा व्यवसायी संघका अध्यक्ष नवीन तामाङ, संयुक्त ग्रील उद्योग व्यवसायी संघका अध्यक्ष राजकुमार राई, होटल व्यवसायी समितिका सचिव वासुदेव बराल, सुनसरी डिलर तथा थोक व्यवसायी संघका अध्यक्ष माणिक सुराना, होटल एशोसिएशन अफ धरानका अध्यक्ष सरोज भट्टराई, वस्तुगत समन्वय समितिका संयोजक रामस्वरुप शर्मा लगायतले बजार खोल्न र कर निर्धारण सम्बन्धमा आ–आफ्ना धारणा पार्नुपर्ने बताएका थिए ।