धरान: धरानको वडा नं ९ स्थित पुर्णपथ र वडा नं १० पुष्पलाल मार्ग जोड्न खहरे माथि बनेको फलामे पुल उद्घाटन गरिएको छ ।

एक कार्यक्रमबीच वडा नं ९ का अध्यक्ष रत्नबहादुर कटवालले हिजो यो पुलको उद्घाटन गरेका हुन् । स्थानीय रत्नबहादुर राना मगर र श्रीमति सरिता राना मगरले यो पुल निर्माण गरिदिएका हुन् । उनीहरुले आफ्ना स्वर्गीय बुबा–आमा दिलबहादुर र लक्ष्मीमाया राना मगरको स्मृतिमा निर्माण गरिदिएको वडाअध्यक्ष कटवालले जानकारी दिए । उनका अनुसार यो पुल बनेपछि पुष्पलाल मार्गतर्फका ३० भन्दा बढी घर र पुर्णपथतर्फका घरहरुबीच सिधै आवातजावत गर्न सकिने भएको छ ।

khaharema

अध्यक्ष कटवालका अनुसार पुर्णपथ तर्फका करिब एक दर्जन घरहरुसम्म पुग्न बाटो थिएन । उनीहरु नम्बरी जग्गा भएर हिड्ने गरेका थिए । त्यसैले अहिले ती घरहरुलाई पनि पायक पर्ने गरि पुर्णपथ हुदै कलेज रोड(कभर्ड हलतर्फ) निस्कने वाइपास बाटो पनि निर्माण भइरहेको छ । ‘खहरे नियन्त्रणमा पनि हुने भयो, र स्थानीयलाई बाटो पनि निस्कने भएर सुविधा हुने भयो,’वडाअध्यक्ष कटवालले भने,‘पोहोर र यसपाली गरेर २२ लाख लगाइएको छ ।’