धरान: लामो लकडाउनको कारण व्यापार व्यवसाय चौपट भएको भन्दै धरानका रेडिमेड कपडा तथा फेन्सि सप व्यवसायीहरुले पसल खोल्न पाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले बुधबार दिउँसो धरान उपमहानगरपालिकामा पुगेर यस्तो माग गरेका हुन् । धरान रेडिमेड व्यापार संघका सचिव सन्दिप श्रेष्ठले लकडाउनको कारण पसल २ महिनाभन्दा बढी समयदेखि बन्द हुँदा अवस्था नाजुक भएको बताए । ‘स्थिति नाजुक भइसक्यो । लकडाउनले मात्र समस्या हल हुदैन,’उनले भने,‘खाद्यान्नलाई बिहान ९ बजेसम्म खोल्ने समय दिएको छ, त्यसपछि रेडिमेड व्यवसायीहरुलाई खोल्न दिनुपर्छ भन्ने हाम्रो माग हो ।’

निश्चित समय तोकेर साथै सामाजिक दुरी र सुरक्षाको उपायहरु अपनाएर पसल खोल्न दिइनुपर्ने रेडिमेड व्यवसायीहरुको माग छ । ‘सरकार कर तिर्नु भन्छ, पसल नखोली कसरी कर तिर्ने ?’सचिव श्रेष्ठले भने,‘घर भाडा, कर्मचारीको तलब, बैंकको ब्याज, साहुलाई तिर्नुपर्ने पैसा सबैतिरबाट मारमा भयौं ।’

उपमहानगरपालिकामा छलफल, सरसफाई गर्न पसल खोल्न दिइने

बजार खुला गर्ने बिषयमा बुधबार दिउँसो धरान उपमहानगरपालिकामा छलफल भएको थियो । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी, प्रहरीसहित भएको छलफलमा बजार खुला गर्ने निर्णय भने हुन सकेन ।

bajar

संघीय सरकारले नै लकडाउन लागु गरेको हुनाले स्थानीय सरकारले त्यसविपरीत निर्णय गर्न नसक्ने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए । उनका अनुसार अहिले जुनरुपमा खाद्यान्न, तरकारीका पसलहरु खुलेका छन्, त्यसरी नै पसल खुल्नेछ । ‘अहिले जसरी खुलेको छ, त्यसरी नै खुल्न दिने । कपडा, फेन्सी सपहरुले आफ्नो पसल खोलेर सरसफाई गर्न पाउने समझदारी भएको छ,’अध्यक्ष सापकोटाले भने,‘बिक्री गर्नलाई त ग्राहक पनि छैन । सरसफाई गरिरहदा ग्राहक आउदा बेच्छन् नि । केन्द्र सरकारको निर्णय विपरीत जान स्थानीय सरकार सक्दैन ।’

उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले पनि बजार खोल्ने बिषयमा केन्द्र सरकारको स्पष्ट निर्देशन नभएकोले छलफल मात्र भएको बताए । समसामयिक समस्याको बिषयमा बुझ्ने काम भएको उनले बताए । ‘आपसी समझदारी र आवश्यकताको आधारमा केही गर्न सक्ने भन्ने समझदारी भयो । केन्द्र सरकारबाट थप मापदण्ड र निर्देशन आयो भने थप निर्णय हुन्छ,’उनले भने ।