धरान: होटल एशोसिएशन अफ धरानले होम डेलिभरी गर्न पाउनुपर्ने माग गरेको छ ।

एशोसिएशनको टोली यही माग लिएर धरान उपमहानगरपालिकामा पुगेका छन् । धरानका मेयर, उपमेयरसँग यो बिषयमा छलफल गरिने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार सुरक्षाको नियम पालना गराएर खाजा होम डेलिभरीको व्यवस्था गर्न पाउनुपर्ने आफुहरुको प्रमुख माग रहेको छ । ‘होम डेलिभरी गर्न पाउदा पनि अहिलेको अवस्थामा होटल तथा रेष्टुरेष्ट व्यवसायीहरुले केही भए पनि राहत पाउछन्,’उनले भने ।

अध्यक्ष भट्टराईले होटल व्यवसाय सञ्चालनको वातावरण तयार गर्नको लागि आवश्यक मापदण्ड बनाउन पनि स्थानीय सरकारलाई आग्रह गरे । व्यवसायीहरु आवश्यक सुरक्षाको उपायहरु अवलम्बन गर्न तयार रहेको पनि उनले बताए । ‘कोरोनाको बारेमा मापदण्ड बनाएर खोल्न दिन स्थानीय सरकारले पहल गरेर वातावरण बनाइदिनुपर्छ,’उनले भने,‘व्यवसायीहरुले पनि नियम, मापदण्ड पालना गर्नुपर्छ, र व्यवसायलाई सुरक्षित बनाउन हामी तयार पनि छौं ।’ व्यवसाय ठप्प हुँदा पनि घरभाडा, बैंकको किस्ता, करले व्यवासायीहरुलाई हैरान बनाएको उनले बताए ।