धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय(सवारी) कोशीका तत्कालिन ४ जना कार्यालय प्रमुखसहित १७ जनाले राजश्व हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार विज्ञप्ती जारी गर्दै १७ जना विरुद्ध बिशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको जानकारी दिएका छन् । आयोगका अनुसार उनीहरुसँग कुल ४० करोड ७३ लाख ५० हजार ४ सय ३० रुपैयाँ बिगो माग दाबी गरिएको छ । आयोगले तत्कालिन प्रमुख नयराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले नेपालसँग १ करोड ८ लाख २९ हजार ६९ रुपैया विगो माग दाबी गरेको छ भने लम्सालसँग ३ करोड ३० लाख ७९ हजार ३ सय ७३ रुपैया, थपलियासँग १ करोड ३० लाख ७२ हजार १५३ रुपैया र राईसँग ५६ लाख १२ हजार ५ ४७ रुपैया विगो माग दाबी गरेको छ ।
यसैगरि, आयोगले तत्काली लेखअधिकृत टीकाराम अधिकारीसँग १ करोड २५ लाख ४८ हजार ६, तत्कालीन लेखापाल सुरेश अधिकारीसँग ३ करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालसँग ३ करोड ४८ लाख ९३ हजार २१६ र तत्कालीन लेखापाल अर्जुन भट्टराईसँग २ करोड १७ लाख ३२ हजार ४७३ बिगो माग दाबी गरेको छ । यस्तै, फोकस वान नेपाल प्रालिका ४ जना कम्प्युटर अपरेटरहरु रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल र राकेश रोशन मर्साङ्गीसँग जनही ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
अख्तियारका अनुसार नागरिक समाज इटहरीबाट कार्यालयमा संकलित राजश्व हिनामिना भैरहेको भन्दै उजुरी परेको थियो । उक्त उजुरीपछि अख्तियारले २०७३/०७४ को चैतदेखि २०७४ को असार मसान्तसम्म अनुसन्धान हुँदा राजश्व सम्बन्धित खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारले जनाएको छ ।