धरान: धरान १८ स्थित बुद्ध चोकमा वाबु(चिण्डो)को प्रतिमा राखिएको छ ।

कलाकारहरुले तयार गरेको वाबुको प्रतिमालाई आज चोकमा राखिएको हो । प्रतिमा राखिए पनि फिनिसिङको काम भने अझै बाँकी रहेको निर्माण संयोजक बिर्ष राईले बताए । ‘आज वाबु राखियो तर फिनिसिङ बाँकी नै छ,’उनले भने,‘प्लाष्टर, ग्रिनाइटको कामहरु बाँकी छ ।’

वाबुको प्रतिमा कलाकार महेन्द्र राई र धिरज राईले निर्माण गरेका हुन् । यो प्रतिमा साढे ९ फिट आग्लो छ । प्रतिमा राख्ने बेस ५ फिट उचाईको भएकोले वावुको कुल उचाई साढे १४ फिट पुग्ने कलाकार राईले बताए । ‘प्रतिमाको बेसमा विभिन्न साँस्कृतिक आकृतिहरु हुनेछ,’उनले भने । वाबुको प्रतिमा वडा कार्यालयको बजेट र स्थानीय दाताको लगानीमा निर्माण भएको हो । वाबुको प्रतिमा राखिए पनि चोकको नाम भने बुद्ध चोक नै रहने वडा कार्यालयले जनाएको छ ।

वाबु अर्थात चिण्डो किरातीहरुको महत्वपुर्ण साँस्कृतिक सामग्री हो । बिशेष गरी किरात राईहरुले जन्मदेखि मृत्युसम्मको सँस्कारमा चिण्डो प्रयोग गर्छन् । चिण्डो धामीको पनि प्रमुख हातियार सामग्री हो भने पितृ, साकेला पुजालगायतमा पनि यो अतिआवश्यक हुन्छ । 

wabu-at-budha-chowk