विराटनगरः प्रदेश एककी सांसद कुसुम श्रेष्ठले बृद्धलाई कोभिड बिमा गर्ने बजेट ल्याउनु पर्ने माग राखेकी छिन् । गत जेठ २३ गते प्रदेश एकका सोमनाथ अधिकारी प्रमुखबाट प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएकी श्रेष्ठले बृद्धभत्ता लिने जति सम्पुर्ण बृद्धहरुलाई बिमाका लागि कार्यक्रम राख्नुपर्ने धारणा राखिन् ।
विश्वव्यापारी कोरोनाले सँकटमा रहेका बेला वालवालिका र बृद्ध बढी प्रभावित हुने भन्दै रोगसँग जुध्न आवश्यक प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुका लागि सरकारको उपस्थिति आवश्यक रहेको उनको ठहर छ । ‘एक जना व्यक्तिलाई ६–७ सय मात्र पर्छ राज्यलाई धेरै भार पनि हुँदैन,’उनले भनिन् ‘आउँदो बजेटमा यो व्यवस्था होस ।’
सत्तारुढ दलकै सांसद रहेकी श्रेष्ठले सरकारले लोकप्रिय कार्यक्रम ल्याए पनि आफ्नो योजना आँफै बिर्सिने गरेको भन्दै कटाक्ष गरिन् । उनले धरान–मुलघाट सुरुङ मार्गको कुरा अघिल्लो बजेटमा समावेश भएपनि यो पटक नीति कार्यक्रममा उक्त योजना काटिएको भन्दै आपत्ति प्रकट गरिन् । त्यस्तै धनकुटामा सुविधासम्पन्न शिक्षण अस्पताल बनाउन बजेट नै विनियोजन भएको भन्दै यो पटक विशेष अस्पताल बनाउने सरकार आफ्नै योजनाबाट पन्छिएको भन्दै धनकुटेली जनतालाई अलमलमा पार्ने काम भएको प्रतिक्रिया दिइन् ।
सांसद श्रेष्ठले पहाडी जिल्लामा उत्तिस, सल्लो लगाएतका काठ प्रशोधनका लागि तराई जाने र त्यसको प्रशोधन पछि पुनः प्रयोगका लागि पहाड जाने भन्दै पहाडी भेगका उपभोक्ता मारमा परेको भन्दै साविका सगरमाथा, कोशी र मेचिलाई पायक पर्ने स्थानमा काठ प्रशोसन कारखाना खोल्ने बातावरण बनाउने सरकार समक्ष माग गरिन् । धनकुुटा तरकारीको पकेट क्षेत्र भएर पनि उत्पादक किसानले सिजन कहिल्यै सहि मुुल्य नपाउने गरेको भन्दै सबै जिल्लामा बोट विरुवा र कृषि उत्पादन बोक्ने कृषि एम्बुुलेन्स सँचालन गर्न माग राखिन् ।
उनले सरकार सन्तुलित बजेट ल्याउनबाट चुक्ने गरेको भन्दै तराई केन्द्रित बजेट ल्याउने प्रयास भइरहेको आरोप समेत लगाएकी छिन् । सरकारले शुक्रवार प्रदेश एककाे बजेट ल्याउने तयारी गरिरहेकाे छ । संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि सांसदहरूले राय दिने क्रम जारि छ ।