धरान: गत चैतमा रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।

विद्यालयहरूले लिएको आन्तरिक परीक्षाको ग्रेडसिटका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने साथै यससम्बन्धी व्यवस्था गर्न कानुनी प्रबन्ध मिलाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जादा विद्यालयमा क्वारेन्टाइन बनाइएकोले परीक्षा गर्ने वातारण नभएकाले कारण आन्तरिक मूल्यांकनलाई वैधता दिने निर्णय भएको शिक्षामन्त्री गिरीराजमणी पोखरेलले जानकारी दिए ।

विद्यालयले यसअघि नै गरेको मूल्यांकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने र उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणीकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ । कक्षा ११ र १२ को परीक्षाका विषयमा भने कुनै निर्णय भएको छैन । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिने बताए । आगामी एसईई परीक्षा के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री पोखरेलले जानकारी दिए ।