धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट पेश गरेका छन् । मन्त्री आङ्बोले प्रस्तुत गरेको कुल बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार चालुतर्फ अर्थात ४६.२९ प्रतिशत रहेको छ भने पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत बजेट रहेको छ । यस्तै, वित्तिय व्यवस्थातर्फ ४ करोड र अन्तर सरकारी बित्त हस्तान्तरणको लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख व्यवहोर्ने जनाएको छ । चालु आर्थिक बर्षको नगद मौज्दात ६ अर्ब रहने पनि सरकारको पुर्वानुमान रहेको छ । यी स्रोतहरुबाट खर्चको आवश्यकता पूर्ति नहुने भएकोले न्युन बित्त ५ अर्ब अन्तर सरकारी बित्त व्यवस्थापन ऐन २०७४ को व्यवस्था वमोजिम नेपाल सरकारसँग ऋण लिएर पूर्ति गरिने पनि मन्त्री आङ्बोले जनाए ।