धरान: आगमी आर्थिक बर्षमा बुढासुब्बा गोल्डकपसहित ४ वटा प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको धरान फुटबल क्लबले आवश्यक बजेटको लागि सहयोग गर्न प्रदेश सरकारसँग पनि आग्रह गरेको छ ।

क्लबका अध्यक्ष किसोर राईसहित पदाधिकारी तथा संरक्षक मिनकुमार सुब्बासहितको टोलीले आज मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरुलाई भेटेर आवश्यक बजेट विनियोजनको लागि आग्रह गरेका हुन् । क्लबको टोलीले मुख्यमन्त्री राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई भेट गरेका थिए । क्लबले आगामी बर्षको बार्षिक कार्यक्रम तथा खेलकुदका कार्यक्रम र अनुमानित बजेट लागत बुझाउदै आवश्यक सहयोग गर्न पनि आग्रह गरेको थियो ।

क्लबका महासचिव प्रताप तामाङका अनुसार मुख्यमन्त्री र मन्त्रीहरुबाट सकरात्मक प्रतिक्रिया आएको छ । ‘क्लबले बार्षिक कार्यक्रम र बजेटको लागत अनुमान तयार गरेको छ, त्यसैको लागि आवश्यक स्रोत जुटाउन प्रदेश सरकारमा गएका हौं,’महासचिव तामाङले भने,‘मुख्यमन्त्री र मन्त्रीहरुबाट सकरात्मक प्रतिक्रिया पाएका छौं । खेलकुदप्रति उहाँहरु पोजेटिभ नै हुनुहुन्छ ।’

dfc-indra

बर्षमा एउटा चर्चित बुढासुब्बा गोल्डकप मात्र आयोजना गर्दै आएको क्लबले आगामी आर्थिक बर्षको बार्षिक कार्यक्रम तथा तालिका र अनुमानित बजेट नै तयार गरेको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि क्लबले कुल १ करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको हो । त्यसमध्ये १५ लाख बजेट प्रशासनिक खर्चतर्फको हो भने बाँकी १ करोड ११ लाख बर्षभरि विभिन्न प्रतियोगिता तथा खेलकुद गतिविधिहरुको लागि हो । क्लबले सोही बजेटको लागि प्रदेश सरकारसँग सहयोगको आग्रह गरेको हो ।