धरान: सरकारको निर्णय अनुसार भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न धरानका ११ होटल तयार भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले ती ११ होटलहरुको सुची प्रकाशित गरेको छ । नेपाल सरकार तथा होटल एशोसिएशन अफ नेपाल(हान) बीच भएको सहमति अनुसार धरानका ती होटलहरुलाई क्वारेन्टाइन बनाइने भएको हो । भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरु आफ्नै खर्चमा ती होटलहरुमा क्वारेन्टाइनमा बस्न सक्नेछन् ।
जिल्ला प्रशासनले क्वारेन्टाइन बनाउन इच्छुक होटलहरुको सुची होटल व्यवसायी समिति धरानसँग माग गरेको थियो । समितिले समन्वय तथा छलफल गरेर होटलहरुको सुची पठाएको समितिका सचिव वासुदेव वरालले जानकारी दिए । जिल्ला प्रशासनले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजंघा, होटल इजीराइडर, होटल यती र होटल डोबमा क्वारेन्टाइन हुनेछ । यी होटलहरुको दररेट नेपाल सरकार र हानबीच भएको सहमति अनुसार हुने जिल्ला प्रशासनले जनाएको छ ।
यस्तै, होटल नवयुग, होटल ड्रिमल्याण्ड, होटल सन्ध्या इन, होटल सेक्ष, होटल स्टारपुर्वी, होटल ह्यापील्याण्ड, र होटल याङ्कोपमा पनि क्वारेन्टाइन हुनेछ । यी होटलहरुको दैनिक सेवा शुल्क भने प्रतिव्यक्ति २१५० हुनेछ । ‘एउटा रुममा २ जना हुन्छन् । बिहानको ब्रेकफाष्ट, बिहानको खाना, दिउँसोको खाजा र बेलुका खाना हुन्छ’समितिका सचिव वरालले भने,‘एक समय भेज र एक समय ननभेज खाना हुन्छ ।’