धरान: नगरसभा अघि पाउनुपर्ने बजेटको सिलिङ वडा कार्यालयहरुले नपाउदा धरानको आगामी नगरसभा के होला, अहिल्यै अनुमान गर्न सकिन्न । तर, विगतमा जस्तो सामान्य अवस्था नगरसभा नहुने संकेत देखिदैछ ।

नगरसभा आउन अब मात्र ३ दिन बाँकी छ । वडाहरुलाई आफ्नो वडाको योजनाहरु छनौट गर्ने समय छैन । त्यसमाथि अझै बजेटको सिलिङ वडाहरुले पाएका छैनन् । सिलिङकै प्रक्रिया अघि नबढेपछि योजना तर्जुमा समितिले पनि योजनाहरु तर्जुमा गर्न पाएको छैन । नगरसभाअघि विधि र प्रक्रिया अनुसार बजेटको सिलिङ वडा कार्यालयहरुमा उपलब्ध गराउनुपर्ने माग गर्दै आज धरानका विभिन्न १३ वटा वडाका अध्यक्षहरुले मेयर तिलक राईलाई पत्र बुझाएका छन् । 

उनीहरुले नगरसभाको समय नजिक आइसके पनि बजेटको सिलिङ वडामा उपलब्ध नहुँदा वडाको योजना तथा कार्यक्रम तर्जुमा गर्न समस्या भएको बताएका छन् । वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले बिषयगत समितिहरुसँग पनि नीति तथा कार्यक्रम र बजेटबारे अहिलेसम्म छलफल नभएको बताए । ‘म सामाजिक विकास समितिको संयोजक पनि हुँ, आगामी बर्ष यो समितिले के गर्ने हो ? अहिलेकै योजना निरन्तरता हुने हो कि के हो ? अहिलेसम्म नीति, योजनाहरु केही पनि मागिएको छैन,’ उनले भने,‘वडाहरुलाई नगरसभा अघि दिइनुपर्ने सिलिङ आजसम्म आएन, त्यसैले बजेटको सिलिङ तुरुन्त उपलब्ध गराइयोस् भनेर मेयरसँग अनुरोध गरेको हो ।’

नगरसभाअघि नै उपमहानगरपालिकाबाट बजेटको सिलिङ वडाहरुमा उपलब्ध गराउनुपर्ने भएपनि यसपाली मेयर संयोजक भएको स्रोत अनुमान तथा बजेट सिलिङ समितिले वडाहरुलाई सिलिङ उपलब्ध नगराएको वडाअध्यक्षहरुको गुनासो छ । बजेटको सिलिङ उपलब्ध नगराएपनि असार १० गते नगरसभा गर्ने व्यहोराको पत्र भने वडा कार्यालयहरुमा पुगिसकेको छ । तर, अहिलेसम्म विधि र प्रक्रिया अनुसार बजेट सिलिङको कार्य नभएको भन्दै अधिकांश वडाअध्यक्षहरु असन्तुष्ट छन् भने नगरसभा के होला भन्ने अन्योल छ ।

नगरसभा अघि उपमेयर संयोजक रहेको राजश्व परामर्श समितिले नगरको आय प्रक्षेपण गर्नुपर्ने हुन्छ । त्यसपछि, मेयर संयोजक रहेको सिलिङ समितिले संघ, प्रदेशबाट पनि प्राप्त हुने बजेटलाई समेटेर वडाको लागि बजेट सिलिङ तोक्नुपर्ने हुन्छ । त्यसपछि, वडा कार्यालयहरुले छनौट गरेको योजनाहरु उपमेयर संयोजक रहेको योजना तर्जुमा समितिमा जान्छ । बिषयगत समितिहरुले पनि सिलिङ अनुसार आफ्नो कार्यक्रम तय गर्छन् । धरानमा २० वटा वडामा १५ वटा नेकपाले जितेको छ । मेयर कांग्रेसबाट जितेका छन् भने उपमेयर नेकपाका छन् । समयमा नै वडामा बजेटको सिलिङ नपठाएर मेयर राईले बजेटलाई नगरमुखी बनाएर आफुमा केन्द्रीत गर्न खोजेको बताउदै आएका छन् ।

यता मेयर तिलक राईले भने यसपाली नगरसभामा पहिला नीति तथा कार्यक्रम प्रस्ततु हुने र त्यसपछि बजेट आउने बताए । वडाको योजनाबारे छलफल गर्ने र छनौट गर्ने समय पनि प्रशस्त पुग्ने बताए । ‘नगरसभामा जादा नीति तथा कार्यक्रम सँगै बजेटको सिलिङ पनि आउनुपर्छ भन्ने उहाँहरुको भनाई हो । पहिला एकै पटक गर्ने चलन थियो । तर यसपाली अंकको बजेट विस्तारै लैजादा हुन्छ भनेर नयाँ प्रक्रियाबाट बजेट आउदैछ,’मेयर राईले भने,‘यसपाली नगरसभामा पहिला नीति तथा कार्यक्रम आउछ, र त्यसपछि अलग्गै बजेट नयाँ ढंगले आउछ । उहाँहरुलाई वडाको योजनामा छलफल गर्ने, छनौट गर्ने प्रशस्त समय हुन्छ ।’ कोरोनाको कारण धेरै मान्छे भेला गर्न पनि नहुने भएकोले कम समयमा काम सक्नुपर्ने उनको भनाई थियो ।

सिलिङ समितिले बुझायो प्रस्ताव

siling2

मेयर संयोजक स्रोत अनुमान तथा सिलिङ समिति ५ सदस्यीय छ । उक्त समितिमा रहेका ४ जना सदस्यहरुले आज स्रोत अनुमान तथा बजेट सिलिङको प्रस्ताव निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएको छ । सिलिङ समितिमा नरेश इवारम, मनोज भट्टराई, विनिता ब्रजचार्य र किसोर परियार छन् । मेयर राईले आवश्यक गृहकार्य गर्न जिम्मा दिएको दाबी गर्दै एक सदसयले सुझावसहित सिलिङको प्रस्ताव बुझाएको जानकारी दिए ।

‘मेयरबाट नै तपाईहरु आवश्यक गृहकार्य गर्नुस् भनेर जिम्मा दिनुभएको थियो । हामीले बजेटलाई वडामुखी बनाउनुपर्छ भनेर आयको स्रोतहरुसमेत पहिचान गरेर सुझावसहित सिलिङको प्रस्ताव निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका छौं,’ती सदस्यले भने । समिति सदस्यका अनुसार शुरुवातमा मेयर राईले २० वटा वडालाई १० करोडको मात्र सिलिङ प्रस्ताव गरेका थिए । अहिले बुझाइएको प्रस्तावमा भने २२ करोडको सिलिङ प्रस्ताव गरिएको छ ।