धरान: यातायात व्यवसायीहरुले प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई भेटेर सरकारले घोषणा गरेको लकडाउन अवधिको सवारी कर छुट पाउने व्यवस्थाको लागि आवश्यक निर्देशन गर्न आग्रह गरेका छन् ।
सोमबार मन्त्रालयमा मन्त्री आङ्बोलाई भेटेर यातायात व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका १ नम्बर प्रदेश समिति संयोजक सरोज श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले मन्त्री आङ्बोलाई लिखितरुपमा आग्रह गरेका हुन् । प्रदेशको आर्थिक ऐनमा सवारी साधन बिग्रेको वा अन्य कुनै कारणबाट सो सवारी चलाउन नपाएको भनि नेपाल सरकार, प्रदेश सरकारले ठहर्याएको कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको सवारी साधनलाई सवारी साधन कर लाग्ने छैन भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार लकडाउनमा सरकारले नै सवारीसाधन सञ्चालनमा बन्देज लगाएकोले सो अवधिको सवारी कर छुटको लागि आवश्वयक निर्देशन गर्न आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै, व्यवसायीहरुले काजगात नविकरण तथा कर राजश्व लकडाउन खुलेको ९० दिनसम्म बुझाएमा जरिवाना नलाग्ने व्यवस्थालाई पनि आवश्यक निर्देशन गर्न आग्रह गरेका छन् । यसैगरि, दुई आर्थिक बर्षको सवारीकर एकै पटक बुझाउनुपर्दा आर्थिक भार पर्ने भएकोले आर्थिक बर्ष २०७७÷०७८ को सवारी कर लगायतका करहरु नयाँ आर्थिक बर्षको असार मसान्तसम्म जरिवाना नलिई छुट्टा छुट्टै बुझाउन सकिने व्यवस्थाको लागि आवश्यक निर्देशन गर्न पनि आग्रह गरेका छन् ।