विराटनगरः औद्योगित नगरीको परिचय पाएको प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शनी केन्द्रको निर्माण शुरु भएको छ ।
विराटनगर– ३ मा बन्ने अत्याधुनिक सुविधासम्पन्न प्रदर्शनी स्थल ३ विगाह ७ कठ्ठा क्षेत्रफलमा फैलिने छ । उद्योग संगठन मोरङले सत्यनारायण मन्दिरको २ विगाह जमिन ९५ वर्षका लागि लिजमा लिएको छ । सोहि सिमानमा रहेको १ विगाह ७ कठ्ठा जमिन विराटनगर महानगरपालिकाले दिएपछि विराटनगरका दुइ व्यापारिक सँगठन उद्योग संगठन मोरङ र मोरङ व्यापार सँघले समान दायित्व र सहभागीता हुने गरि सम्झौता समेत गरेका छन् ।
प्रदर्शनी स्थल निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गासँगै ५० लाख बजेट समेत छुट्याएको छ । त्यस्तै प्रदेश १ सरकारले हाल १ करोड बजेट विनियोजन गरेको छ भने अपुग भएको खण्डमा थप २ लाख दिने प्रतिबद्धता आएको उद्योग सँगठन मोरङका अध्यक्ष भिम घिमिरेले क्लिक धरानलाई जानकारी दिएका छन् । ‘औद्योगिक शहर भए पनि विराटनगरमा एउटै स्थाई प्रदर्शनी केन्द्र थिएन, अस्थाई संरचना बनाइ प्रदर्शनी केन्द्र संचालन गर्दा खर्च बढि हुन्थ्यो,’उनले भने– ‘अब लामो समयका लागि तीनै तहले सहजिकरण गरिदिने गरि स्थाई सँरचना बनाउन प्रतिबद्धता आएपछि हामीले काम थालेका छौँ ।’
उनका अनुसार सुविधा सम्पन्न उक्त प्रदर्शनी स्थल बनाउन ५ अर्व बजेट लाग्नेछ । यसको स्रोतमा तीनै तहका सरकार रहेका छन् भने व्यवसायी र विदेशी दातृ निकायसमेत रहेका छन् । डिपिआर निर्माणको चरणमा रहेको बताइएको छ । हाल कम्पाउण्ड घेरावार भइरहेको उक्त स्थानमा स्थाई संरचना नबनुन्जेल प्रति ड्रम (ठुलो टेन्ट) १ हजार व्यक्ति अट्ने ४ ओटा ड्रम लगाइने छ ।
मोरगं व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगीक व्यवसायीक क्षेत्रको विकासका प्रदर्शनी स्थल बन्नु कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । ‘उद्योगी व्यवसायीको हक, हितका लागि यस केन्द्रले महत्वपुर्ण भुमिका खेल्नेछ ।’ उनले भने ।
मोरंग व्यापार संघ पूर्व अध्यक्ष महेश जाजुले प्रदर्शनी स्थलको अभावमा त्यस्ता गतिबिधि उल्लेखिय मात्रामा नभएको औल्याउदै अवका दिनमा त्यस्ता प्रदर्शनीले गती लिने विश्वास व्यक्त गरे । ‘प्रदर्शनी स्थल निर्माणका सन्दर्भमा सकारात्मक शुरुवात भएको छ ।’ उनले भने– ‘यस सहकार्यले निकट भविष्यमा नै प्रदर्शनी स्थलको निर्माण भई यस क्षेत्रको औद्योगिक विकासमा गतिशिलता प्रदान हुनेछ ।’