धरान: खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ज्येष्ठ पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाले बुधबार सातौं नगरसभामा प्रस्ततु आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा यस्तो नीति ल्याएको हो । तर, पत्रकारहरुले प्रोत्साहन भत्ता पाउनको लागि ५५ वर्ष उमेर नाघेको हुनुपर्नेछ वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुरा गरेको पत्रकार हुनुपर्ने । यो दुवै मापदण्ड पुरा गरेका पत्रकारले मासिक दुई हजार प्रोत्साहन भत्ता पाउनेछन् ।

गाउँपालिका अध्यक्ष भुपेन्द्र राईका अनुसार महासंघका सदस्यता लिएर पनि पत्रकारितामा मात्र नभै अन्य पेशमा पनि आवद्ध भएका पत्रकारहरुलाई भने यो सुविधा उपलब्ध हुनेछैन । पत्रकारहरुको पेशागत सुरक्षाको लागि यो पत्रकारमैत्री नीति तथा कार्यक्रम ल्याइएको हो । उनले प्रोत्साहन भत्ता क्रमशः वद्धि हुने पनि जानकारी दिए ।

यस्तै, गाउँपालिकाले जिल्लामा क्रियासिल पत्रकारलाई मुटु, क्यान्सर, मष्तिष्कघात जस्ता गम्भीर प्रकृतिको रोग लागेमा उपचारको लागि २० प्रतिशत खर्च सहयोग गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यस्तै, सरकारले निर्धारण गरेको मापदण्ड पुरा गर्ने सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन, सामुदायिक संवाददाता उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गर्ने, एफएम रेडियो सञ्चालनका लागि अनुमति दिने लगायतको नीति पनि गाउँपालिकाले ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।