धरान: नेपालको कृषि क्षेत्रको लागि दुखद खबर छ, भारत हुदै सलह नेपालमा पनि प्रवेश गरेको छ ।
आज बिहान बारा, पर्सा र सर्लाहीको केही स्थानमा सलह किरा देखिएको हो । बाराका कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले किसानहरुले रुखमा सलह बसेको देखेपछि खबर गरेको जानकारी दिए । फिल्डमा पुग्दा ४ वटा झुण्डमा सलह देखिएको उनले बताए । सलह नेपाल प्रवेश गरेको बारेमा कृषि मन्त्रालयमा जानकारी गराइसकेको पनि यादवले बताए ।
मन्त्रालयले सलह किरा नेपाल आएको बिषयमा छलफल गर्न बैठक राखेको छ । भारतमा प्रवेश गरेको सलह नेपाल पनि आउनसक्ने चेतावनी यसअघि नै विज्ञहरुले दिएका थिए । मन्त्रालयले पनि जोखिम न्युनीकरण गर्न विज्ञ एवं प्राविधिहरु रहेको एक समिति गठन गरिसकेको थियो । सलह अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारत प्रवेश गरेको थियो । भारतबाट सीमावर्ती क्षेत्र हुदै सलह नेपाल प्रवेश गरेको हो ।
सलह फट्याङ्ग्रा वर्गको कीरा हो। सलह करोडौंको संख्यामा समुहमा हुने भएकोले हरियो वनस्पतिलाई एकै छिनमा सखाप हुने गरि खाइदिने गर्छ । दैनिक ९० माइल (१००-१५० किमी) सम्मको यात्रा दुरी पार गर्छन् भने औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खाइदिने बताइन्छ । भिडियो स्रोत:रविन्द्रराज भण्डारी