धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालको लागि अत्यन्तै महत्वको दिन ।

खेतमा काम गर्ने र दही, च्युरा खाएर असार १५ मनाइन्छ । गाउँघरतिर असारे भाकामा गाउदै रोपाई गरिन्छ । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । तर, असार १५ मा दही, च्युरा खाने चलन उहिल्यैदेखिको हो । विगतका बर्षहरुमा आजको दिन हर्षेउल्लासका साथ रोपाई कार्यक्रम आयोजना गरिन्थ्यो । कृषि सहकारी संस्थाहरुले रोपाई जात्रा नै गथ्र्यो । तर, यसपाली कोभिड १९ को कारण विगतका जस्तो भव्य कार्यक्रमहरु हुन सकेन । धरानमै पनि पानवारीमा बर्षेनी रोपाई महोत्सव हुदै आएको थियो । यसपाली लकडाउनको कारण हुन सकेन । तर किसानहरुले रोपाई भने गरि नै रहेका छन् ।

सुनसरीमा २५ प्रतिशत रोपाई 

ropai

गत बर्ष धरान ६ पानवारीमा आयोजित रोपाई महोत्सव । फाइल तस्बिर ।

सुनसरीमा हिजो आइतबारसम्म २५ प्रतिशत रोपाई भएको छ । यस्तै, मोरङमा २८ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र सुनसरीका योजना एवं बागवानी अधिकृत प्रविणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसपाली मनसुन समयमा नै भएको कारण रोपाई विगतका बर्षहरुमा भन्दा धेरै भएको हो । ‘यो बर्ष समयमा नै बर्षा भयो । किसानहरु आकाशे पानीको भरमा छन्, त्यसैले रोपाई पनि समयमा नै हुनसक्यो,’उनले भने । सुनसरीमा गत आर्थिक बर्ष २०७६, ०७७ मा चैते र बर्खे गरेर मा ५८ हजार ६सय १७ हेक्टरमा रोपाई भएको थियो ।