विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवश्यक भएको बताएका छन् ।

समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने उनले बताए । तीनै तहको सरकारको श्रोतको सीमा हुने भएकाले एकै स्थानमा मात्र बढी खर्च गर्न नसकिने मन्त्री घिमिरेले बताए । झापाको दमक नगरपालिकाले विद्यालय शैक्षिक गुणस्तर सुधार सम्बन्धीको अनलाईन कार्यक्रममा आज मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । समुदाय परिचालन गर्न सके शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पर्ने सामाग्री जुटाउनका लागि समस्या नहुने उनले बताए ।

विद्यालयमा समुदाय परिचालन गर्नका लागि सामाजिक विकास मन्त्रालयले पुर्व विद्यार्थी समाज गठनको अवधारणा ल्याएको पनि उनले बताए । मन्त्री घिमिरेले भने,‘ पुर्व विद्यार्थी विभिन्न तह र स्थानमा हुन्छन्, उनीहरुलाई परिचालन गर्न सके आवश्यक सामाग्री जुटाउन सहज हुन्छ ।’ उनले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय मितेरी सम्बन्ध कार्यक्रम, इ–एजुकेशनको व्यवस्थापन, पुर्व विद्यार्थी समाज गठन र परिचालन, आमा समुह गठन र परिचालनको काम भईरहेको मन्त्री घिमिरेले बताए ।

प्रविधिमैत्री विद्यालय हुनका लागि शिक्षक पनि दक्ष हुनुपर्नेमा उनको जोड छ । शिक्षक दक्ष भए मात्रै विद्यार्थीले दक्षता आर्जन गर्न सक्ने उनले बताए । प्रविधि मैत्री विद्यालय निर्माण कार्यमा दमक नगरपालिकाले कार्य शुरु गरेकोमा उनले धन्यवाद दिए । प्रदेश १ ले शुरु गरेको अभियानले अन्य प्रदेशमा पनि सिकाईको आधार तयार भएको मन्त्री घिमिरेले बताए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार कार्यक्रम सम्वन्धी सामाजिक विकास मन्त्रालयले गरेको काम र उपलब्धीबारे मन्त्रालयका तर्फबाट हिक्मत वस्नेतले प्रस्तुती गरेका थिए ।