धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले आन्दोलन गरेका छन् ।

चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा चिकित्सक शिक्षकहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । अहिले आन्दोलनरत शिक्षक कल्याण समाजका नेतृत्व र पदाधिकारीहरुबीच वार्ता भइरहेको छ । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले हिजो कर्मचारी, शिक्षक तथा चिकित्सकहरुको तलब वृद्धि गर्ने निर्णय गरेका थिए । जसअनुसार सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको हकमा बेसिक तलबमा १० प्रतिशतका दरले तबल वृद्धिको निर्णय भएको थियो ।

यो निर्णयप्रति शिक्षक चिकित्सकहरुले असन्तुष्टी जनाउदै उपकुलपतिको कार्यालयअघि भेला भएर सांकेतिक धर्नामा छन् । उपकुलपति डा.गिरीले श्रेणीबिहिनदेखि सहायकस्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमान २० प्रतिशत वृद्धि गर्ने निर्णय गरेका थिए भने अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारीहरुको १५ प्रतिशत तलब वृद्धिको निर्णय गरेका थिए ।