धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि भएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरेअनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् । वृद्धि भएको तलब १ साउन २०७६ देखि लागु हुने उपकुलपति डा.गिरीको सर्कुलरमा उल्लेखछ ।
सर्कुलर अनुसार श्रेणीविहिनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमान २० प्रतिशत वृद्धि भएको छ ।

अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारीहरुको १५ प्रतिशत वृद्धि भएको छ भने सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको हकमा बेसिक तलबमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने निर्णय भएको छ । नियमअनुसार आकर्षण भत्ता पाउने शिक्षकलाईसमेत १० प्रतिशत लागु हुनेछ । श्रेणीविहिन कर्मचारीलाई वृद्धि तलब शतप्रतिशतले हुन आउने रकम १५ गते असारसम्म उपलब्ध गराउने र बाँकी अन्य पदाधिकारी, शिक्षक र कर्मचारीहरुलाई स्रोतको उपलब्धता भएसँगै क्रमिकरुपमा उपलब्ध गराउदै जाने उल्लेख छ ।

कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले तलब वृद्धिको यो निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । ‘निर्णय सकरात्मक र स्वागतयोग्य छ । कर्मचारीको हितमा पनि छ,’उनले भने,‘उपकुलपतिबाट साहसपुर्ण निर्णय भएको छ, हामीले सन्तोष गर्ने ठाउँ रह्यो ।’

sercular