धरान: धरानमा ९८ औ अन्तराष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

नगर सहकारी समन्वय समिति र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा शनिबार दिवस मनाइएको हो । सहकारी दिवससंगै नगर स्तरीय सहकारी भेला समेत एकैपटक आयोजना भएको थियो । भेलामा आउँदो साउनबाट धरान ९ मा नगर समन्वय समितिको कार्यालय स्थापन गर्ने सहमति पनि भएको थियो । नगरमा कोष नभएका कारण कार्यलय संचालनका लागी जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष तथा वडा नं. १५ का अध्यक्ष नरेश इवारमले एकवर्षका लागी मासिक १ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसै गरि जिल्ला सहकारी संघका १५ जना सदस्य तथा समन्वय समितीका २१ जना सदस्यले मासिक ५ सय, प्रारम्भिक सहकारी संस्थाले मासिक ३ सयको दरले सहयोग गर्ने भएका छन् । प्रमुख अतिथिसमेत रहेका इवारमले सहकारी एन २०७४ अनुसार व्यवस्थित रूपमा चलेको सहकारीलाई लकडाउनले पनि कुनै समस्या नदिएको बताउँदै सबै सहकारीलाई एन अनुसार चल्नका लागी आग्रह गरेका छन । उनले एउटा सहकारीले अर्को सहकारीलाई साथ सहयोग गरी एक हुनका लागी समेत आग्रह गरेका थिए ।

कार्यक्रममा लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत उपलव्ध गराउन स्थापना भएको धरानको फुड बैंकमा सहयोग गरेका ५५ वटा सहकारीलाई प्रशंसा पत्र समेत वितरण गरिएको छ । फुड बैंकमा ५ लाख १८ हजार बराबरको खाद्यान्न प्रदान गरिएको थियो । धरानका सहकारी मध्यै पवित्र साकोसले सबैभन्दा बढी ६२ हजार नगद दिएका थिए । यस्तै, सुम्निमा साकोसले २५ हजार र उधमशिल साकोसले १५ हजार १ सय नगद प्रदान गरेको थियो ।

नगर सहकारी समन्वय समितीले समय समयमा सहकारी सम्बन्धी विभिन्न तालिम, सहकारी शिक्षा तथा सहकारीको समस्याको समेत सुनुवाइ गर्ने गरेको समन्वय समितीका संयोजक मिसन लामाले बताइन् । यो कार्यलाई निरन्तरता समेत दिइने उनले बताइन । कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठ, महिला उपाध्यक्ष सारदा मगर, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । धरान १५ स्थित इजि राइडर होटलमा संपन्न कार्यक्रमलाई समन्वय समितीका सचिव ज्ञानेन्द्र बस्नेतले सहजिकरण गरेका थिए ।