धरान: वैदेशिक रोजगारीबाट फर्किए पछि स्वदेशमा के गर्ने ? प्रायः सबैलाई अन्योल हुन्छ । कुनै उपाय नभएपछि उनीहरु पुनः विदेश नै जान्छन् ।

अहिले विश्वव्यापी कोभिड १९ को महामारीले विदेशबाट फर्किने महिला र पुरुषहरुको संख्या अत्यधिक छ । उनीहरुलाई अब स्वदेशमा नै केही गर्ने अवसर उपलब्ध गराउनुपर्ने चुनौती राज्यसँग छ । विदेशबाट फर्किएका महिलाहरु जो पुनः वैदेशिक रोजगारीमा जान चाहदैनन्, उनीहरुलाई लक्षित गरेर धरानमा वंगुरको पाठापाठी वितरण गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको संस्था सामना नेपालले धरानका ७ जना महिलाहरुलाई वंगुरपालानमा प्रेरित गर्दै स्वदेशमा नै आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरेको जनाएको छ ।

सामना नेपालकी अध्यक्ष चेतना सेरेङका अनुसार प्रदेश १ को संसद विकास कोषबाट सांसद उमिता बराइलीको सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद बराइलीले विदेशबाट फर्किएका महिलाहरु पुनः विदेश नै जान नपर्ने वातावरण तयार गर्नुपर्ने बताइन् । ‘वैदेशिक रोजगारबाट फर्किका महिलाहरु पुन विदेशमा श्रम र पसिना बगाउनु जानु नपरोस्, त्यही उद्देश्यले वंगुरको पाठा वितरण गरिएको हो,’ उनले भनिन् ।

उन्नत जातको वंगुरपालन गरेर सामुहिक रुपमा काम गर्न सके सफलता पाउने सांसद वराइलीले बताइन् । वंगुरपालनलाई व्यवसायकोरुप्मा अघि बढाउन सके महिलाहरुको आर्थिक विकासमा सहयोग हुने पनि उनले बताइन् । सामना नेपालकी अध्यक्ष सेरेङले वैदेशिक रोजगारबाट फर्किएका अति विपन्न तथा निम्न आयस्रोत भएका र पुन वैदेशिक रोजगारमा जान नचाहने महिलाहरु मध्ये ७ जना छनोट गरेर वंगुरको पाठा वितरण गरेको बताइन् ।

‘अब आफनै देशमा केही गर्छु भन्ने महिला दिदी बहिनीहरुलाई थप प्रोत्साहित गर्नको लागि उन्नत जातका पाठाहरु वितरण गरिएको हो,’अध्यक्ष सेरेङले भनिन् । पाठा वितरण कार्यक्रममा विशेष अतिथि महिला संजालकी अध्यक्ष सबिता राई, ८ वडाका नेकपा अध्यक्ष लक्ष्मण दास, दिपेश ल्वागुन, होटल व्यवसायी शान्ता मेन्याङबो अतिथिको रुपमा रहेका थिए भने कार्यक्रम संचालन सामना नेपालका सचिव शारदा मास्केले गरेकी थिईन् ।