इटहरी: इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् ।

दुई वटा समुह बनाएर स्थानीय महिलाहरु कौशीखेतीमा जुटेका छन् । महिलामा कौशीखेतीको आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास संस्था मार्फत तालिम पनि दिएको छ । तालिममा ३० जना महिला सहभागी भएका थिए । उनीहरुलाई कौशीखेती आवश्यक समाग्री समेत उपमहानगरले उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत तालिम दिएर आवश्यक समाग्री डमस्टेन, हजारी र मलविउ उपलब्ध गराएको उपमहानगरले जनाएको छ । ती सामग्रीहरु उपमेयर लक्ष्मी गौतम तथा वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले हस्तान्तरण गरेका थिए ।

kausi-khetiko

उपमेयर लक्ष्मी गौतमले इटहरीलाई तरकारीमा आत्मनिर्भर बनाउने योजना अन्र्तगत वजारका महिलालाई कोैशीखेतीका लागि तालिम र आवश्यक समाग्री सहयोग गरिएको बताइन् । नमूना कौशी खेती गर्न उपमेयर गौतमले सल्लाह दिइन् । उपमहानगरले आगामी वर्षको वजेटमा समेत १५ लाख रुपियाँ कौशीखेतीका लागि प्रस्ताव गरिएको उनले जानकारी दिइन् ।

वडा ६ का अध्यक्ष दीपक गौतमले बजार क्षेत्रमा ठाँउ सुहाउदो काम अघि बढेकोमा खुशी ब्यक्त गरे । उनले वडाका १ सय ५० घर लक्षित गरेर कौशीखेतीका लागि व्यवस्थित र सुदृढ तालिम प्रदान गरिने बताए । उपमहानगर सामाजिक विकास शाखाकी अधिकृत माया राईले कौशीखेतीबाटै पहिचान बनाउन शुभकामना दिइन् । स्वागत टोल विकास सस्थाकी अध्यक्ष भद्रा थापाले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमै उर्तान सुझाव दिइन् ।