विराटनगर: प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माण गर्ने भएको छ ।

मोरङको ग्रामथान ७ मा १० विघा १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो । वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरुको उद्दार गरि औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलन गर्ने उद्देश्यले प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्ने तयारी गरेको हो । प्रदेश सरकारले सो सेवा आश्रमका लागि आगामी आर्थिक वर्षमा १ करोड वजेट छुट्याएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । चालु आर्थिक वर्ष भित्रमै निर्माण कार्यको थालनी गर्ने गरि मन्त्रालयले सहयोगी संस्थाहरुसँगको छलफललाई अघि बढाएको छ ।

सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्दार कार्यमा अहिले मानव सेवा आश्रमले कार्य गरिरहेको छ । सोही संस्था लगायतका सहयोगी संस्थाहरुसँग मन्त्रालयले छलफल अघि बढाएको मन्त्री घिमिरेले बताए । प्रदेश १ मा सडकआश्रितहरुलाई उद्दार गरि सडक मानवमुक्त बनाउने अभियानमा सरकार अघि बढेको मन्त्री घिमिरेले बताए । प्रदेश सरकारले आगामी तीन वर्षभित्रमा सुविधा सम्पन्न सेवा आश्रम निर्माण गरिने लक्ष्य रहेको बताए ।

प्रदेश १ मा मानव सेवा आश्रमले सडक आश्रित ५० जनालाई उद्दार गरिसकेको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहसँगको सहकार्यमा सडकबाट उद्दार गरि मानव सेवा आश्रममा ल्याईएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । कास्कीको पोखरामा प्रदेश सरकारसँगको सहकार्यमा ३ सय क्षमताको सुविधा सम्पन्न मानव सेवा आश्रम निर्माण कार्य शुरु भएको पनि उनले बताए । मानव सेवा आश्रमले ७ वटै प्रदेशमा १९ वटा केन्द्र मार्फत सेवा दिईरहेको उनले बताए । देशभरीमा अहिले सम्म १ हजार २ सयलाई सेवा दिईएको अधिकारीको भनाई छ ।

सडकआश्रित मानवहरुका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्नु राम्रो पक्ष भएको अधिकारकर्मी मञ्जिता उपाध्यायले बताइन् । प्रदेश सरकारले छिटो आश्रम निर्माण गरि सेवा शुरु गर्नुपर्ने उनको सुझाव छ । अहिले भाडाको घरबाट मानव सेवा आश्रमले सेवा दिईरहेका कारण खर्च बढेको उनले बताइन् ।