धरानः कोरोना महामारीको बेला पनि उपचारमा खटिएका चिकित्सकहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रर्दशन गरेका छन् ।

युवा चिकित्सक संघ प्रदेश १ को आयोजनामा नेपाल चिकित्सक संघ, संघको जुनियर डाक्टर कमिटिसहितको टोलीले प्रर्दशन गरेको हो । पछिल्लो पटक झापाको विर्तामोडमा एक अस्पतालमा डाक्टर सुधाकर झा कुटिएका थिए । करिब तीन साताअघि उनलाई कुटपिट गर्ने २ व्यक्ति पक्राउ परेपनि छुटिसकेका छन् । सोही घटनाको विरोधमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई धरौटीमा छोड्न नहुने भन्दै प्रर्दशन गरिएको हो ।

प्रतिष्ठानको आकस्मिक कक्षमा आयोजित प्रर्दशनमा संघका केन्द्रीय सदस्य डा.दिपेश आचार्य, डा.देवराज घिमिरे,डा.गणेश फुलारा, युवा चिकित्सक संघका केन्द्रीय सचिव डा.रविन बस्नेत, युवा चिकित्सक संघका प्रदेश १ अध्यक्ष डा.राजदिप खतिवडालगायतले बोलेका थिए । वक्ताहरुले स्वास्थ्यकर्मीहरु असुरक्षित हँुदा पलायन हुने अवस्था आउनसक्ने बताए ।

doc

युवा चिकित्सक संघका केन्द्रीय सचिव डा.बस्नेतका अनुसार कुटिएका डा.झा काम नगर्ने भनेर झापाबाट आफ्नो घर(जनकपुर) फर्किसकेका छन् । ‘विदेशमा जादा राम्रो तलब पाउछन्, यहाँ सुरक्षा पनि छैन । त्यसले गर्दा डाक्टरहरु पलायन हुने अवस्था आउछ,’उनले भने,‘सरकारले यो अवस्था आउन दिन हुदैन । भारत पनि कार्यक्षेत्रमा डाक्टरलाई कुट्नेलाई ७ बर्ष जेलको कानुनी व्यवस्था गरिसक्यो । नेपालमा पनि सरकारले कडा कानुन ल्याउनुपर्छ ।’

डाक्टर देवराज घिमिरेले विरामीका आफन्त तथा कुरुवाहरुबाट जोगिन डाक्टरहरुले साथमा हतियार बोकेर काम गर्नुपर्ने अवस्था आउन लागेको बताए । विरामीका आफन्त धेरै जना आउने र डाक्टरले चेकजाँच गरिसकेको अवस्थामा ती व्यक्तिहरुले डाक्टरले हेरेकै छैन भन्दै अनावश्यक विवाद गर्ने, हातपात गर्ने गरेको उनको भनाई थियो । ‘डाक्टरले हेरिसकेको विरामी छ भने पनि कति बेला को आउछ र किन डाक्टरले हेरेन भन्दै जंगिन्छ, हामीले केही बोल्यो कि डाक्टर भएर ठुलो स्वरमा कुरा गर्ने ? भनेर धम्क्याउछ,’उनले भने,‘अब हामीले त हतियार साथमा राखेर उपचार गर्नुपर्ने बेला आइसक्यो ।’