धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि घर बाहिर निस्कदा अनिवार्यरुपमा माक्स लगाएर निस्कन सुचना जारी गरेको छ ।

जिल्ला प्रशासनले आज अत्यन्त जरुरी सुचना जारी गर्दै कसैले माक्सको प्रयोग विना बाहिर निस्किएको देखिए सुरक्षाकर्मीले तुरुन्त नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने जानकारी दिएको छ । प्रशासनले अतिआवश्यक काममा बाहेक घर बाहिर ननिस्कन पनि सर्वसाधारणहरुलाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माले गृहमन्त्रालय र जिल्ला प्रशासनबाट पनि सुचना जारी भएकोले आज माइकिङ गरेर सर्वसाधारणलाई जानकारी दिने र भोलीदेखि कडा कारबाही गरिने बताए । ‘आज सबैतिर माइकिङ गरेर जानकारी दिने, सम्झाउने गर्दैछौं, भोलीदेखि कोही माक्स विना बाहिर देखिए समात्न थाल्छौं,’डिएसपी शर्माले भने ।

cdo

सरकारले लकडाउन खुकुलो गरेसँगै घरबाहिर तथा बजारमा मानिसहरुको चहलपहल बढेको छ भने स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पनि लागु नहुदा संक्रमण वृद्धि हुने जोखिम पनि बढेपछि हिजो गृहमन्त्रालयले माक्स विना घरबाहिर निस्किए कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । मन्त्रालयको सोही निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि आज सुचना जारी गरेको हो ।

प्रशासनले घरबाहिर हिडडुल गर्दा, सार्वजनिक स्थलमा जाँदा अनिवार्यरुपमा कम्तीमा दुई मिटरको सामाजिक दुरी कायम गरेर मात्र आवातजावत गर्न भनेको छ । सार्वजनिक निकायहरुमा सेवाग्राही तथा सेवा प्रदायकले अनिवार्यरुपमा २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने र साबुन पानीले बारम्बार हात धुने तथा सेनिटाइजरको प्रयोग गर्न पनि सुचनामा उल्लेख छ ।