धरान: लकडाउनको समयमा आत्महत्या घटना बढ्दो अवस्थाले सबैलाई चिन्तित बनाएको छ ।

खास गरी युवा वर्गमा डिप्रेसन तथा मानसिक समस्याको कारण आत्महत्याको घटनाहरु भएको बताइन्छ । यही कुरालाई मध्यनजर गर्दै मंगलबार धरानमा युवायुवतीहरुलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो । लायन्स क्लब आफ दन्तकाली धरान र लियो क्लब अफ धरानको संयुक्त आयोजनामा कार्यक्रम धरान १ स्थित जिल्ला रेडक्रस सोसाइटीको भवनमा भएको थियो ।

कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानिसक रोग विभागका चिकित्सक डा.मधुर बस्नेतले सहजीकरण गरेका थिए । जुनियर जेसिज धरान सहआयोजक रहेको कार्यक्रममा डाक्टर बस्नेतले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकता नदिएको बताए । बिशेष गरि १४ देखि २४ वर्ष उमेर समुहका युवायुवतीहरुमा विविध कारणले मानसिक रोगको शिकार हुने जोखिम रहेको भन्दै डाक्टर बस्नेतले यो उमेर समुहमा मानसिक स्वास्थ्यको पर्याप्त जानकारी हुन आवश्यक भएको बताए ।

lions 1

यो उमेरमा गलत संगत, पारिवारीक समस्याले निम्तने तनावलगायतले युवाहरु डिप्रेसनको शिकार हुनसक्ने भएकोले उनीहरुलाई त्यसबाट जोगाउन अभिभावकहरुको भुमिका महत्वपुर्ण हुने बताए । अभिभावकहरुले आफ्ना सन्तानको मनोभावना बुझ्न अतिजरुरी भएको डाक्टर बस्नेतले बताए । कार्यक्रममा ५५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रम लायन्स क्लब अफ दन्तकालीकी अध्यक्ष लायन रुक्मणी मास्केको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि लायन धिरज गुरुङ रहेका थिए । यस्तै, विशेष अतिथिमा रेडक्रसका सभापति उमेश थापा रहेका थिए भने कार्यक्रमको सन्चालन क्लबका महासचिव लायन इन्द्रबहादुर कार्कीले गरेका थिए ।