धरान: माक्स नलगाई धरान बजार क्षेत्रमा हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार आज पहिलो दिन करिब ४५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा डेढ घण्टा जति राखेर सम्झाई बुझाई घर पठाइएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘माक्स विना हिड्नेहरुलाई उठाएर ल्यायांै, एक डेढ घण्टा राखेर सम्झाई गरेर आज पठाएका छौं,’उनले भने,‘पसलमा बस्नेलाई पनि अनिवार्य माक्स लगाउन भनेका छौं ।’

लकडाउन खुकुलो हुदै गएपछि घरबाहिर र बजार क्षेत्रमा मानिसहरुको आवतजावत बाक्लो भएको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको छ भने संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । यसैकारण गृहमन्त्रालयले घरबाहिर निस्कदा माक्स नलगाए पक्राउ गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो । हिजो जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि निर्देशन दिएपछि आजदेखि प्रहरीले कडाई गर्न थालेको हो । ‘हामीले माइकिङ पनि गर्न थालेका छौं, घरबाहिर निस्कनु पर्ने हो भने अनिवार्य माक्स लगाउनुपर्छ,’प्रहरी निरीक्षक ओलीले भने,‘लापरवाही नगरौं, आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं ।’