धरान: धरान उपमहानगरपालिका ४ वसन्तटारका ज्येष्ठ नागरिक धनबहादुर सोताङ सेउती खोला तरेर वडा नं १५ मा पाइला टेकेपछि सोच्ने गर्थे, हाम्रो वडामा कहिले पिच(कालोपत्रे सडक) बन्ला ! उनलाई लाग्थ्यो, नातीको पालामा त पक्कै चिल्लो सडक होला ।

तिनै वृद्ध सोताङ बुधबार भने अचम्मित मात्र भएनन्, औधी खुशी पनि भए । यसको कारण हो, वडा नं ४ मा पहिलो पटक कालोपत्रे सडक बन्नु । बाटो कलोपत्रे हुदै गर्दा उनी लाठी टेकेरै घरबाट हेर्न खैरेनीटार आइपुगे । कालोपत्रे सडक देखेर दंग परे, अनि भने,‘नातीको पालामा मात्र पिच हुन्छ होला भनेको आफ्नै पालामा बनेको देख्यौ । यो त सोचेकै थिएनौं ।’

बुधबार धरान ४ हरिगंगा मार्ग मात्र ३ सय २५ मिटर कालोपत्रै बन्दै थियो । सेउती खोलास्थित काठे पुलदेखि अग्र्यानिक गाउँ बसन्तटारसम्मको यो सडक स्वीस सरकारको अनुदानमा प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेको हो । धरानमा सडक कालोपत्रे हुँदा रमाउनु पर्ने अवस्था पनि होइन । किनभने, धरान विकास निर्माणमा नेपालकै नमुना सहर हो । जनसहभागितामा यहाँको सडकहरु फराकिला र चिल्ला बनेका छन् । तर, धरानको वडा नं ४ मा भने अहिलेसम्म एक मिटर पनि बाटो कालोपत्रे बनेको थिएन । त्यसैले त्यहाँका बासिन्दा, बुढापाकाहरु रमाएका हुन् ।

wada-4-ko1

वडा नं ४ धरानको पहाडी क्षेत्र हो । त्यसैले यो वडा धरानको दुर्गम हो । वडा नं ४ पहिला पाँचकन्या गाविस थियो, र त्यति बेला पनि वडा नं ४ नै थियो । करिब ६ बर्षअघि तत्कालिन धरान नगरपालिकामा समायोजन भएको थियो । नगरपालिका हुँदा वडा नं २१ भएको यो क्षेत्र उपमहानगरपालिका भएपछि पुनः वडा नं ४ नै भएको छ । उपमहानगरपालिका भइसकेर पनि यो वडामा अहिलेसम्म एक मिटर पनि कालोपत्रे हुन सकेको थिएन । वडा नं ४ का जनप्रतिनिधि(सदस्य) धनबहादुर कुलुङका अनुसार पहिलो पटक कालोपत्रे भएको यो सडकलाई श्री हरिगंगा मार्ग भनिन्छ । ‘अहिलेसम्म एक मिटर पनि पक्की भएको थिएन । यहाँका बुढापाकाहरुलाई आफु बाँचुञ्जेल पिच देख्न पाइन्छ भन्ने आशा पनि थिएन रहेछ,’कुलुङले भने,‘आज पिच गर्दै गर्दा उहाँहरु आएर असाध्यै खुशी हुनुभयो । नातीको पालामा मात्र होला भनेको आफ्नै आँखाले देख्न पाइयो भनेर रमाउनु भयो ।’

wada-4-ko

यो सडक ६० लाखमा ठेक्का लागेर काम भएको हो । त्यसमा ३ सय २५ मिटर कालोपत्रे सडक हुनेछ भने डेढ सय मिटर साइड वाल र डेढ सय मिटर ड्रेन बनेको कुलुङले बताए । यो सडक भविष्यमा धरान ४ को प्रसिद्ध पर्यटकीय र कृषि क्षेत्र दानाबारी, हर्दिया जोडिनेछ । धरान १५ निराजन बस्तीदेखि हर्दिया हुदै कन्यापोखरीसम्मको १७ किलोमिटर कृषि सडकको काम पनि बहुबर्षीय योजनाअन्र्तगत प्रदेश सरकारबाट ३९ करोडमा टेण्डर लागेर निर्माण भइरहेको छ । ‘यो सडक निर्माण पुरा भएपछि धरानको वडा नं ४ को प्रमुख मेरुदण्ड हुनेछ । कृषि उत्पादन बजारमा पुर्याउन सहज हुन्छ । दानबारी, हर्दिया क्षेत्रमा पर्यटन विकास हुन्छ,’वडा सदस्य कुलुङ भन्छन्,‘धरान–भेडेटार सडकको वैकल्पिक मार्ग पनि हुनेछ । ओख्रे, डाँडाबजार जान यो रुटबाट छिटो हुन्छ ।’

wada-4