धरान: विवादको कारण धरान उपमहानगरपालिकाको सातौं नगरसभा अन्योल भइरहदा छिमेकी इटहरी उपमहानगरले भने आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।

नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा हिजो सातौं नगरसभा वैठकबाट सर्वसम्मतले वजेट नीति तथा कार्यक्रम पारित भएको हो । यता, धरानको नगरसभा भने अब कहिले बस्छ भन्ने टुंगो नै लागेको छैन । असार १० गते शुरु भएको नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत भएपछि असार २६ गते बैठक बस्ने गरि स्थगित भएको थियो । तर, हिजो नगरसभा भएन भने कार्यपालिका बैठक पनि मेयर तिलक राईको पेश्की बेरुजुको बिषयले विवाद भएर नेकपाका कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरे ।

यता धरानमा विवाद भइरहदा उता इटहरीमा भने अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ सर्वसम्मतले पारित भइरहेको थियो । विधेयक माथिको छलफलमा १४ जना नगरसभा सदस्यहरुले भाग लिएका थिए । नीति कार्यक्रम वजेट, अर्थ र विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको उपमेयर लक्ष्मी गौतमले जवाफ दिएकी थिइन् । उनले नगरसभा सदस्यहरुले अहिलेसम्मकै उत्कृष्ट वजेटको भएको अभिव्यक्ति दिएकोमा धन्यवाद दिइन् । साथै कोरोना महामारीले जन्माएको जटिल परिस्थिति सहज हुने वित्तिकै रात्री वजार संचालन गरिने पनि बताइन् ।

itri-nagar-sava

इटहरीमा धुम्दै गरेको पृथ्वीमाथि नेपालको नक्सा सहितको आकर्षक स्तम्भ निर्माण गरिने वताइन् । यस्तै, इटहरी उपमहानगरले भत्तामा कटौती गरेर कोरोना तथा स्वास्थ्य कोषमा जम्मा गरिने प्रष्ट पारिन् । जनसंख्या, भूगोल र आयश्रोतलाई आधार मानेर ब्यवस्थित ढंगले वजेट विनियोजन गरिएको पनि उनले जानकारी दिइन् । वैठकमा नगरसभा सदस्यहरु निश्चल पोखरेल, पार्वता वराइली, तोया कुमारी ढकाल र वालकृष्ण विष्टले अर्थ र विनियोजन विधेयकका वारेमा बोलेका थिए ।

उपमहानगरको सातौ नगरसभामा असार १० गते उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ७८ करोडको वजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा १ अर्व ७८ करोड कुल विनियोजन मध्ये चालु तर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय ब्यवस्था तर्फ १ करोड ४० लाख विनियोजन गरिएको छ । वजेटमा स्वास्थ्य,कृषि,रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ ।