धरान: असार १० गते शुरु भएर सोही दिन स्थगित भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बैठक आज हुदैछ ।
असार १० गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि नगरसभाको बैठक असार २६ गते बस्ने गरि स्थगित भएको थियो । तर, निर्धारित समयमा विवादको कारण बैठक बस्न सकेन । मेयर तिलक राईको पेश्की बेरुजु बिषयले कार्यपालिका बैठकमा पनि विवाद भएको थियो । दुई दिनअघि मात्र कार्यपालिका बैठकमा सहमति जुटेपछि नगरसभा असार ३० र ३१ गते गर्ने निर्णय भएको थियो ।
नीति तथा कार्यक्रम र बजेटको बिषयमा कार्यपालिका बैठकमा सहमति भइसकेको हुनाले सभाबाट पनि सहमतिमा नै पास हुने अनुमान गरिएको छ । तर, सभाका सदस्यहरुले छलफलमा भाग लिनेछन् । यस्तै, कार्यपालिका बैठकले नगरसभाका पेश गर्ने गरि पारित गरेको विभिन्न विधेकयहरुमाथि पनि छलफल हुनेछ । राजश्व परिचालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक , विनियोजन विधेयक ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको विधेयक, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थान गर्न बनेको कार्यविधि नगरसभामा लैजाने गरि कार्यपालिका बैठकले पास गरेको थियो ।