धरान: करिब २ बर्षपछि धरानको महत्वपुर्ण देशीलाइन सडक निर्माण सम्पन्न भएको छ ।

धरानको भानुचोकदेखि पुर्वतर्फ माछाभौडीसम्मको १ सय ७५ मिटर सडक कालोपत्रे गरिएको हो । यो सडक वडा नं २ मा पर्छ । वडा सदस्य धर्म तामाङका अनुसार अब सडकमा मार्किङ र रंगरोगन गर्ने काम मात्र बाँकी छ । ‘आज पानी परेन भने त्यो काम पनि सकिन्छ । सडक निर्माण कार्य सम्पन्न भइसकेको छ,’उनले भने,‘केही दिनभित्रै सञ्चालनमा आउछ ।’

दुवै किनारामा ७ फिट फुटपाथ र ३६ फिट सडक गरी कुल ५० फिट सडक चौडाई हुनेछ । यो सडक २०७५ भदौदेखि निर्माण कार्य शुरु भएको थियो । सडक निर्माण गर्न स्थानीय आफैले घर भत्काएका थिए । पछिल्लो समय ३ महिना लकडाउनले निर्माण कार्य प्रभावित भएको थियो । ‘स्थानीयबासी सबै अत्यधिक खुशी छन् । यो सडक निर्माण सम्पन्न भएपछि व्यापार, व्यवसायलाई पनि राम्रो हुन्छ,’वडा सदस्य तामाङले भने ।

desiline

यो सडक नयाँ गुणस्तरयुक्त अस्फाल्ट कंक्रिट प्रविधीबाट कालोपत्रे गरिएको हो । यो विधिबाट बनेको सडक एकै दिनमा कालोपत्रे सेट भइसक्ने निर्माण कम्पनी ग्रान्ड इन्फ्रास्टकचर नेपाल प्रालिका प्राविधिक विश्व लिङ्थेपले बताए । २०७६ भदौमा ठेक्का लागेको सडक ९ महिनाभित्र बनिसक्नुपर्ने भएपनि उपनिर्वाचन, कोरोना महामारीको ढिलाई भएको उनले बताए । यो सडक १ करोड ३५ लाखमा ठेक्का लागेको हो । देशीलाईन धरानको पुरानो सडक हो । विदेशबाट आएकाहरु बस्न थालेपछि देशीलाइन नामकरण भएको हो ।

desiline1