सुनसरी : भ्रष्टचारको अखडा भनेर चौतर्फि आलोचनामा पर्ने इटहरी उपमहानगरपालिकामा कर्मचारी पक्राउ परेका छन् ।

स्थानीय सरकार आएपछि पनि जनताको काममा ढिलासुस्ति हुने, मोटो रकमको दाबी गर्ने गुनासो हटेको थिएन । यसबारे जनप्रतिनिधिलाई बारम्बार उजुरी गरे पनि सेवाग्राही मारमा परिरहेका थिए । यस्तै गुनासो लिएर इटहरीको एउटा विद्यालय इटहरीमै रहेको अख्तियारको कार्यालयमा पुगेको थियो ।

इटहरी शिक्षाका शाखाले आफ्नो शाखाबाट सेवा लिने सेवाग्राहीलाई किन झुलाएको भनेर केहि कर्मचारीले बुुझ्दा पक्रिया पुरा हुन बाँकि रहेको भन्दै फाइल फर्काइ दिएको एक कर्मचारीले बताए । उनका अनुसार सेवाग्राहीले सबै प्रक्रिया पुरा गराएका थिए । एक विद्यालयलेको कक्षा ८ को परिक्षा सम्बन्धि कार्यको विवरण सम्पन्न भइ हिसाब फोरफार गरिसक्दा आफुले पाउने रकम कबोल गरेपछि शिक्षा शाखा हुँदै अख्तियार पुगेको विद्यालयको भनाई छ ।

नगरपालिकाको शिक्षा शाखाको समेत केहि जोर नचलेपछि सेवाग्राही र सोहि शाखाका एक कर्मचारीले अख्तियारमा उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा इटहरी अख्तियारको टोलीले लेखा अधिकृत पोख्रेललाई ६० हजार नगद सहित रंगेहात पक्राउ गर्यो । उनको साथमा रहेको थप १ लाख ५० हजारको भने स्रोत खुल्न नसकेको अख्तियारका कर्मचारीले बताएका छन् ।  

अख्तियारका प्रवक्ता प्रदीपकुमार काेइरालाले निज पाेख्रेलले ६५ हजार घुसवापतकाे रकम लिँदै गर्दा पक्राउ परेकाे कुरा पुष्टि गर्दै हिजै विज्ञप्ती निकालि सकेका छन् । काेइरालाले निकालेकाे विज्ञप्तीमा भनिएकाे छ 'शिक्षा शाखाबाट कक्षा ८ काे परीक्षा सँचालनमा भएकाे खर्चकाे फरफारक गरि भुक्तानी गर्ने प्रयाेजनका लागि सेवाग्राहीसँग घुसमाग गरिरहेकाे भन्ने सुचनाका आधारमा अख्तियार दुरूपयाेग आयाेग इटहरीकाे टाेलीले लेखा अधिकृत विकास पाेख्रेललाइ ६५ हजार रकम लिइसकेकाे अवस्थामा इटहरी ६ विपी चाैकबाट अनुसन्धान भइरहेकाे छ ।'

news123_20200716164622
को हुन पोख्रेल ?
इटहरी विपी चौक छेउ घर भएका पोख्रेल त्यहाँका स्थानीय हुन् । उनी कर्मचारी समायोजनपछि इटहरी उपमहानगरपालिकामा घरपायक जागिर पारेका आएका थिए । उनी नगरपालिका आएदेखि नै आफ्नै लेखा शाखाका कर्मचारीसँग दुरी बढाएर बसेका थिए । उनले योजनाहरुमा आफ्नो हिस्सा खोज्ने जानकारहरु बताउँछन् । उनले आँफु पहुँचमा रहेको व्यक्ति रहेको रवाफ जनप्रतिनिधिलाई समेत व्यवहारबाट देखाइ रहन्थे ।

योजनाको भुक्तानीका लागि उनले दोहोरो चेक बनाउने गरेको एक ठेकेदारले जानकारी दिए । उनले भने ‘मैले बीस लाखको चेक बनाएँ भने भुक्तानीका लागि १९ र १ लाखको दोहोरो चेक बन्थ्यो । १९ लाख पाएँ भने १ लाखको चेक रोकिन्थ्यो । नगद लिएर गएपछि मात्र त्यो १ लाखको चेक हाता लाग्थ्यो ।’ उनले आफुले पोख्रेलको घरको तल्लो तलामा रहेको औषधी पसलको गल्लामा आँफ्नै हातले पैसा हाल्ने गरेको दाबी गरे । ‘बोले योजना पाइन्न, नमिलेसम्म हामीले त्यहाँबाट सहज भुक्तानी त कहिलै पाइँदैन थियो,’ उनले गुनासो गरे ।

itri-lekha

लेखा अधिकृत पक्राउ परेपछि जम्मा भएको भिड ।

उपमेयरको फाइल च्यातिएको काण्ड

पोख्रेलले उपमेयर लक्ष्मि गौतमले तयार पारेको फाइल च्यातिदिएका थिए । नगरपालिकाबाट इटहरी एक विज्ञापन एजेन्सीमार्फत ठुलो परिमाणमा एड जाने गरेको भए पनि पहुँच नभएका एक पत्रकारको मिडियाको करिब १५ सय मुल्य बराबरको विज्ञापन उपमेयर गौतमले तोक लगाएर लेखा शाखामा पठाएकी थिइन् । पोख्रेलले ‘कस्ले तोक लगाएको ? को हो उपमेयर ? भन्दै हप्काएर फाइल च्यातिदिएको एक कर्मचारीले जानकारी दिए ।

यसबारे बुझ्दा उपमेयर गौतमले भनिन् ‘पहुँच हुनेले सिधै ठुलो एड लग्छन्, तर मैले सानो रकमको विज्ञापनका लागि भुक्तानी दिन तोक लगाएर पठाएकी थिएँ । वहाँले च्यातिदिएको खबर धेरै पछि थाहा पाएकी हुँ ।’ पोख्रललाई नजिकबाट बुझ्ने कर्मचारीले उनलाई पटकपटक उनका आफन्त र जनप्रतिनिधिले गुनासो आएको भन्दै सम्झाएको बताउँछन् । उनका आफन्तसमेत सरकारी सेवामा रहेको हुँदा उनीहरुको अगाडी छलफल गरेर अब यस्तो काम नगर्न सम्झाए पनि नसुध्रिएको ति कर्मचारीले बताए ।