विराटनगरः प्रदेश १ मा अन्य प्रदेश भन्दा बढि बजेट खर्च भएको देखिएको छ ।
अघिल्लो आर्थिक वर्षमा पनि ७ प्रदेश मध्ये बढि खर्च गरेको यो प्रदेशले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेटको ७०.८३ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रवक्ता अन्तिम कुमार आचार्यका अनुसार प्रदेश १ सरकारले चालु तर्फ कुल बजेटमध्ये १८ अर्व ६२ करोड ६४ लाख ७६ हजारमा १२ अर्व २ करोड ४४ लाख १४ हजार अर्थात ६४.५६ प्रतिशत खर्च गरेको हो ।
त्यसै गरि पुँजिगततर्फ २३ अर्व ५७ करोड ३९ लाख ३४ हजार मध्ये १७ अर्व ८६ करोड ६५ लाख ९८ हजार खर्च भएको हो । जुन ७५.७९ प्रतिशत हुन जान्छ । आर्थिक वर्षको अन्त्यमा आएर खर्च गर्ने परम्पराबाट प्रदेश १ पनि अछुतो नभएको तथ्याँकले देखाउँछ । जसको परिणामस्वरुप असार महिनामा मात्रै कुल खर्चको ३६ प्रतिशत खर्चको भएको देखिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को कुल बजेट ४२ अर्व २० करोड ४ लाख १० लाखको थियो । उक्त बजेट मध्ये असार मसान्तसम्ममा २९ अर्व ८९ करोड १० लाख ४ सय खर्च भएको हो । यो रकम मध्ये असार महिनामा मात्रै १० अर्व ९३ करोड ९५ लाख ९६ हजार रुपैया प्रदेश १ सरकारले खर्च गरेको देखिएको छ ।