धरान: सुनसरी जिल्ला भारतसँग खुला सिमा जोडिएको जिल्ला हो । त्यसैले सुनसरीबाट लागुऔषध, अन्य सामानहरु मात्र तस्करी हुदैन, हातहतियारको ओसारपसार पनि हुने गरेको छ ।

विगतमा व्यक्ति हत्या जस्ता अपराधिक घटना सुनसरीमा भएका छन्, र ती घटनामा भारतीय सुटरहरु संलग्न भएको प्रहरी अनुसन्धानबाट नै खुलेको छ । भारतीय सुटरहरु मोटरसाइकलमा सहजै आउने र व्यक्ति हत्या गरेर फरार हुने घटनाले सुनसरी जिल्ला सुरक्षाको दृष्टिले संवेदनशिल हो भन्ने प्रष्ट छ । अहिले कोभिड १९ को कारण सिमा बन्द छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । तर, अझै पनि यो जिल्लामा सुरक्षा चुनौती कम भएको छैन भन्ने उदाहरण हिजो(बिहिबार) राती देवानगञ्जमा भएको घटनाले उजागर गरेको छ ।

घटना सिमाबाट करिब ५ सय मिटर उत्तर नेपालतर्फ हो । देवानगञ्ज गाउँपालिका ३ स्थित पानीटंकीमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालको कमाण्डमा गएको प्रहरी टोलीसँग हतियारधारी समुहको गोली हानाहान भयो । त्यो समुह २ वटा मोटरसाइकलमा आएका थिए । प्रहरीले २ जनालाई गोली प्रहार गरेर पक्राउ गर्न सफल भयो भने ३ जना उम्किए । रातभर प्रहरीले सर्च गर्दा पनि उनीहरु फेला पर्न सकेनन् । जिल्ला प्रहरी प्रमुख एसपी कमल थापा अनुसार उनीहरु दशगजातिर भागेका थिए । त्यसैले सिमा पार भारत पुगेको हुनसक्छ । ‘उनीहरुलाई पनि गोली प्रहार गरिएको हो, तर भाग्न सफल भए,’एसपी थापाले भने,‘२ जनालाई गोली प्रहार गरेर नै नियन्त्रणमा लिन सफल भएका छौं ।’

पक्राउ पर्नेमा देवानगञ्ज २ का २३ बर्षीय पिन्टु यादव र ३२ बर्षीय राजेश यादव छन् । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुको साथबाट अटोमेटिक युएसए पेस्तोल एक थान, गोली ६ थान, म्याग्जिन २ वटा वरामद भएको छ भने एउटा भारतीय नम्बरप्लेट भएको र अर्को अनटेष्ट मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी थापाका अनुसार फरार भएका ३ जनाले फायर खोलेको हुनाले यो समुहसँग अझै अतियार थियो भन्ने खुलेको छ । ‘फरार भएका ३ जना भारतीय हुन् कि भन्ने छ, पक्राउ परेका २ जनाको वयानबाट धेरै रहस्यहरु खुल्नेछ,’एसपी थापाले भने ।

किन आए हतियारधारी समुह सुनसरी ?

हतियार र गोलीको संख्या हेर्दा यो समुह ठुलै योजनाका साथ सुनसरी प्रवेश गरेको सुरक्षा अधिकारीहरुको अनुमान छ । पक्राउ परेका २ जना नेपालका भएपनि फरार भएकाहरु भारतीय भएको अनुमान प्रहरीको छ । एउटा मोटरसाइकल भारतीय नम्बर प्लेटको भएकोले पनि उनीहरु भारतीय भएको हुनसक्ने प्रहरी अनुमान सत्य नजिक छ । तर, के उद्देश्यले उनीहरु आएका हुन् ? प्रहरी अधिकारीहरु पनि अनुसन्धानको क्रममा भएको र घाइतेको वयान लिन बाँकी नै रहेकोले केही खुलिनसकेको बताउँछन् ।

goli

जिल्ला प्रहरी प्रमुख एसपी थापा भन्छन्,‘विगतका बर्षहरुमा भएको घटना हेर्दा ठुलै योजनाको साथ आएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ, तर प्रहरी पनि निक्कै सजगताका साथ निगरानीमा छ । त्यसैले हिजो उनीहरु फन्दामा पर्यो ।’ प्रहरीले सिमावर्ती क्षेत्रमा नियमित गस्ती गर्दै निगरानी बढाएको एसपी थापाको भनाई छ । साथै, भारतीय सवारीसाधनलाई नियन्त्रणमा लिइने गरिएको छ । यसले अपराधिक गतिविधि हुन नदिन ठुलो भुमिका खेल्ने उनले बताए । प्रहरीका अनुसार पक्राउ परेका पिन्टु यादव चोरीको मोटरसाइकल नेपालबाट भारत र भारतबाट नेपाल ओसारपसार गर्ने धन्दामा थिए । साथै, साना हतियार ओसारपसारमा पनि उनी संलग्न रहेको प्रहरीको भनाई छ।

झोला खोसाखोस हुदा फयार गरे

देवानगञ्जमा दक्षिणबाट २ वटा मोटरसाइकल आएपछि बिहिबार राती प्रहरी टोलीले रोकेर चेकजाँच गर्न थाल्यो । समय रातीको पौने ९ बजिसकेको थियो । एउटा मोटरसाइकल भारतीय नम्बरप्लेटको भएकोले पनि प्रहरीले चेकजाँचमा कडाई गर्यो ।

एउटा मोटरसाइलकमा सवार व्यक्तिले बोकेको झोला चेक गर्न खोज्दा दिएनन् । प्रहरी र उनीहरुबीच झोला खोसाखोस हुनथाल्यो । त्यहीक्रममा झोलाबाट हतियार खस्यो । अर्को मोटरसाइकलमा भएकोले प्रहरीलाई भगाउने उद्देश्यले फायर खोल्यो, तर प्रहरीले पनि तत्काल जवाफी फायर गरेपछि उनीहरु भागे । झोला चेक गर्ने क्रममा खोसाखोस हुदा प्रहरी हवल्दार दुर्गा तामाङको हातमा टोकेर उनीहरु भाग्दै थिए । प्रहरीले पनि गोली चलाएर २ जनालाई नियन्त्रणमा लिन सफल भयो । तर, ३ जना भने मोटरसाइकल छोडेर दशगजातिर भाग्न सफल भयो ।