धरान: सुनसरीको सिमावर्ती क्षेत्र हरिनगरा गाउँपालिका ६ घुस्कीमा गए राती सशस्त्र प्रहरी र तस्करबीच झडप भएको छ ।

झडपमा परी एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने तस्करीमा संलग्न एक व्यक्तिलाई पेटमा गोली लागेको छ । सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालका अनुसार राती करिब ९ बजे सशस्त्रको टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । ८, ९ जनाको समुहले सशस्त्रलाई बाँसको भाटा, ढुंगालगायतले आक्रमण गरेको र हतियार पनि खोस्न खोजेको एसपी ढकालले जानकारी दिए । ‘तस्करीको सामान लिएर आउदा रोकेपछि उनीहरु जाइलागे । हाम्रो हतियार नै खोस्न खोज्दा तानातान भयो,’उनले भने,‘तर्साउनको लागि हाम्रो जवानले हतियार कक गर्यो, र पनि उनीहरुले छोडेन । झट्काएर तान्दा गोली चल्यो, र एक जनाको पेटमा लाग्यो ।’

एसपी ढकालका अनुसार तस्करको आक्रमणबाट सशस्त्र प्रहरी जवान जिवराज विशंखे घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ भने सशस्त्रको गोली लागेर स्थानीय सवाज अन्सारी घाइते भएका छन् । अन्सारी नेपाली नै हुन् । दुवैलाई तत्काल उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । अन्सारीको अप्रेशन गर्ने तयारी भइरहेको छ भने सशस्त्र प्रहरी विशंखेलाई पकलीस्थित पुर्व क्षेत्रीय अस्पतालमा लगेर उपचार भइरहेको एसपी ढकालले जानकारी दिए ।

राती घटनालगत्तै एसपी ढकाल आफै घुस्की पुगेका थिए । उनी राती १ बजे डिएसपीको कमाण्डमा थप सुरक्षाकर्मी छोडेर फर्किएका थिए । घटना हुदा सईको कमाण्डमा १० जना मात्र सशस्त्र थिए । अहिले डिएसपीको कमाण्डमा ९० जना सशस्त्र प्रहरी त्यसक्षेत्रमा खटिएका छन् । यसअघि, बिहिबार राती पनि सिमावर्ती क्षेत्र देवानगञ्जमा पनि हतियारधारी समुह र नेपाल प्रहरीबीच गोली हानाहान भएको थियो । उक्त घटनामा प्रहरीले गोली प्रहार गरेर २ जनालाई पक्राउ गरेको थियो ।