धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको गल्फ कोर्षले हाई क्लासको पर्यटकहरुलाई तान्न सक्ने बताएका छन् ।

शनिबार धरान गल्फ क्लबलाई कोर्ष मर्मतको लागि अतिआवश्यक ट्याक्टर हस्तान्तरण समारोहलाई संक्षिप्त सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । उनले धरानमा भएको कोर्ष र गल्फ खेलको महिमा बुझ्न नसकेको पनि धारणा राखे । ‘धरानमा यत्रो ठुलो कोर्ष छ तर यो खेलको महिमाको बारेमा बुझेका छैनौ,’उनले भने,‘हामी खेल पर्यटनको कुरा गछौं तर यसको महत्व बुझेकै छैनौं । गल्फ कोर्ष राज्यको प्राथमिकतामा पनि छैन ।’

मेयर राईले धेरैलाई कोर्षको जग्गामा ठुला भवनहरु बनाउनुपर्छ भन्ने लागेको हुनसक्ने भएपनि यो कोर्षको जग्गालाई जोगाउनुपर्ने बताए । ‘नेपालको सन्दर्भमा अब गल्फ कोर्षहरु बन्दैछ,यत्रो बिघा जमिन कहाँबाट ल्याउनु ? ५ धुर माटो पाउन गाह्रो छ । कही जग्गा देखियो कि घर टहरा बनिहाल्छ,’उनले भने,‘त्यसकारण यसलाई बचाइराख्नु पर्छ । यसको महत्व र उपयोगितातिर पनि ध्यान दिनुपर्छ ।’ मेयर राईले गल्फ कोर्ष र खेलबाट हाई क्लासको पर्यटक आउनसक्नेतर्फ पनि ध्यान पुर्याउनुपर्ने बताए । ती पर्यटकले लगानी भित्र्याउने उनको भनाई थियो । ‘गल्फ कोर्ष भएको कारण पनि कार्यक्रम, बिजनेज हाउसको मानिसहरु आउन सक्छ,’उनले भने,‘तर, कोर्षको बिजोग छ । यहाँ क्लब छ, नगरपालिका छ, स्थानीय बासिन्दा छ । मिलेर सञ्चालन गर्नुपर्छ, सदुपयोग गर्नुपर्छ भनेर साझेदारी गर्न खोजेको हो ।’

golf-course

मेयर राईले विभिन्न कार्यक्रम गरेर लाखौं खर्च भएपनि उपयागीता नभएको भन्दै क्लबलाई हस्तान्तरण गरेको ट्याक्टर बषौंसम्म रहने बताए । साथै उनले गल्फ क्लबलाई दिइएको ट्याक्टरले रंगशाला, एन्फाको मैदानमा पनि उपयोग गर्न सकिने बताए । ‘यहाँ सहकार्यमा थुप्रै कार्यक्रमहरु गर्नसक्छोैं । प्राकृतिक सुन्दरता छ । यो हाम्रोसम्पत्ति हो, जोगाउनुपर्छ । अब कोर्षले पुर्नजीवन पाउनेछ भन्ने आशा गर्छु ।’

गल्फ क्लबलाई ट्याक्टर हस्तान्तरण

धरान उपमहानगरपालिकाले गल्फ कोर्षमा मर्मतको लागि अतिआवश्यक पर्ने ट्याक्टर धरान गल्फ क्लबलाई सहयोग गरेको छ । उपमहानगरपालिकाको अनुदान र क्लबकोसमेत आर्थिक लगानीमा खरीद भएको ट्याक्टर शनिबार क्लबलाई हस्तान्तरण गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको गल्फ क्लब एवं कोर्षमा मेयर तिलक राईले उक्त ट्याक्टरको चाबी क्लबका अध्यक्ष टिका लिम्बुसहित पदाधिकारीहरुलाई हस्तान्तरण गरेका थिए ।

golf

यो ट्याक्टर ९ लाख ९५ हजारमा खरीद गरिएको हो । त्यसमध्ये, उपमहानगरपालिकाले ५ लाख रुपैया अनुदान दिएको हो भने बाँकी रकम क्लबले जुटाएको सचिव जितेन्द्र राईले जानकारी दिए । कबिन इन्टरनेशनल प्रालिका कोशी बागमति बजार प्रतिनिधि चुडामणी श्रेष्ठका अनुसार १२ लाख ५० हजार पर्ने यो ट्याक्टरलाई सामाजिक उत्तरदायित्वअन्र्तगत २ लाख ५५ हजार छुट दिएर क्लबलाई उपलब्ध गराइएको हो ।

क्लबका पुर्वअध्यक्ष एवं वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुका अनुसार गल्फ कोर्षमा ३ किसिमको घाँस हुन्छ । ग्रिनमा हुने घाँस काट्ने अलग्गै मेशिन हुन्छ भने रफ र फेयर वेमा हुने घाँस काट्नको लागि यो ट्याक्टर अति आवश्यक हुन्छ । ‘बर्खामा घाँस धेरै नै हुन्छ, त्यो बेला यो ट्याक्टर अति आवश्यक पर्छ । त्यसबाहेक कोर्ष मर्मतसम्भार गर्न माटोको चपरी बोक्न, बंकरमा बालुवा हाल्न पनि यसलाई उपयोग गर्न सक्छौं,’उनले भने ।