धरान: लेखा अधिकृत विकास पोखरेल घुसको रकमसहित पक्राउ परेको घटनामा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मेयर चौधरीले प्रेश विज्ञप्ती जारी गर्दै नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई भ्रष्टचार नगर्न र भ्रष्टचारजन्य गतिविधिबाट अलग रहन पटक पटक सचेत गराउदै आएको पनि जनाएका छन् । मेयर चौधरीले घुस रकमसहित पक्राउ परेको घटनामा अधिकृत पोखरेल आफै व्यक्तिगतरुपमा जिम्मेवार रहने पनि बताएका छन् ।
उनले इटहरी उपमहानगरपालिका भ्रष्टचारजन्य गतिविधिप्रति शुन्य सहनशिलताका साथ काम गर्दै आएको पनि उल्लेख गरेका छन् । साथै, भ्रष्टचारजन्य गतिविधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायिक निकायबाट हुने अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन उपमहानगरपालिका तयार रहेको पनि विज्ञप्तीमा उल्लेख छ । साउन १ गते अख्तियारको टोलीले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फारफरक गरी भुक्तानी गर्ने प्रयोजनमा सेवाग्राहीसँग घुसवापत ६५ हजार रकमसहित अख्तियारले पक्राउ गरेको थियो ।