धरान: चेक बाउन्स मुद्दामा धरान १६ का एक युवा नक्खु कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले २०७६ चैत ७ गते गरकेो फैसला अनुसार धरान १६ मा बस्दै आएका प्रकाश सम्बाहाम्फे पक्राउ परि जेल चलान भएका हुन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले हिजो पक्राउ गरेर कैद भुक्तानीको लागि नक्खु कारागार पठाइएको जानकारी दिएको छ । प्रहरीका अनुसार काजलदिप राणाले प्रकाशविरुद्ध चेक अनादार (बिगो) मुद्दा हालेका थिए । उक्त मुद्दामा अदालतले २ बर्ष कैद ठहर गरेको थियो ।

'हिजो पक्राउ गरेर ललितपुर पठायौं, आज अदालतमा उपस्थित गराएर नक्खु कारागार पनि पठाइसक्यो,'धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले भने । धरान प्रहरीले सम्बाहाम्फेलाई हिजो बिहान करिब साढे ९ बजे धरान १६ बाट नै पक्राउ गरेको थियो । प्रहरीका अनुसार सम्बाहाम्फे र राणाबीच जग्गा सम्बन्धी लेनदेन रहेको थियो । त्यसैमा उनले ३० लाखको चेक राणालाई दिएको तर चेक बाउन्स भएपछि राणाले अदालतमा मुद्दा हालेका थिए । सम्बाहाम्फेको खास घर झापाको गौरादह नगरपालिका ६ घर भए पनि धरान १६ मा अभिभावक तथा परिवारसँग बस्दै आएका थिए ।