धरान: आगामी भदौ १ गतेदेखि लामो दुरीको पनि सार्वजनिक सवारीसाधन सञ्चालन हुन पाउने भएको छ ।
मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका डा.युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनले छोटो, मध्यम र लामो दुरीका निजी तथा यात्रुवाहक सार्वजनिक सवारीहरुलाई स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिइने जानकारी दिए । ‘भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड वमोजिम हुने गरि छोटो, मध्यम र लामो दुरीमा जिल्ला भित्र र अन्तरजिल्ला सञ्चालन हुने निजी तथा यात्रुवाहक सार्वजनिक सवारी साधनहरु भदौ १ गतेदेखि सञ्चालन गर्न दिइनेछ,’अर्थमन्त्रीसमेत रहेका डा.खतिवडाले भने ।
यस्तै, भदौ १ गतेदेखि नै सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले तोकेको मापदण्ड वमोजिम हुने गरि सो मन्त्रालयले तोकेको आन्तरिक, अन्र्तराष्ट्रिय व्यवसायिक र अन्य उडानहरु सञ्चालन गर्न सकिने पनि मन्त्री खतिवडाले जानकारी दिए ।