धरान: सरकारले साउन मसान्तसम्म जिल्ला भित्र मात्र सवारीसाधन चल्न दिने निर्णय गरेपनि सुनसरी र मोरङमा भने जिल्ला प्रशासनले दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएका छन् ।

यातायात व्यवसायीहरुले जिल्लाभित्र मात्र यातायात चल्न दिने सरकारको निर्णयमा चर्को असन्तुष्टी जनाएपछि प्रशासनले मोरङ र सुनसरीमा भने दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएको हो । सरकारले मंगलबार मध्यरातीबाट लकडाउन अन्त्य भएको जनाए पनि लामो दुरी र अन्तरजिल्ला सवारीसाधन भने भदौ १ गतेदेखि मात्र चल्न दिने निर्णय गरेको थियो । ‘सुनसरी र मोरङ जिल्ला एकअर्कामा अन्तरसम्बन्धित भएकोले दुवै जिल्लामा व्यवहारिकतालाई हेरेर सवारी चल्न दिने भएका छौं,’सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्न्द्रमणी पोखरेलले भने ।

यातायात व्यवसायीहरु सरकारको निर्णयमा असन्तुष्ट छन् । लकडाउन अन्त्य भएको भन्ने तर एक जिल्लाबाट अर्को जिल्लामा यातायात चल्न नदिने निर्णय अपरिपक्क भएको नेपाल यातायात राष्ट्रिय महासंघका प्रदेश १ संयोजक सरोज श्रेष्ठले बताए । ‘सरकारले लकडाउन सकियो पनि भन्ने तर गाडीलाई जिल्लाको सिमानामा रोक्ने, अनि कसरी लकडाउन अन्त्य भयो ?’उनले भने,‘भदौ १ गतेदेखि मात्र चल्न दिने हो भने साउन अन्तिममा मात्र लकडाउन अन्त्य भनेको भए हुन्थ्यो ।’

उनले सरकारको अपरिपक्क निर्णयले यातायात व्यवसायीसँगै सर्वसाधारण यात्रुहरुले पनि सास्ती भोग्नु परिरहेको बताए । धरानबाट झापा वा धनकुटा जानुपर्ने यात्रुहरु सिमानामा उत्रिएर अलपत्र पर्ने अवस्था भएको संयोजक श्रेष्ठले बताए । ‘सरकारले लकडाउन सकियो भने, तर गाडी एउटाबाट अर्को जिल्ला जान पाउदैन, जनतालाई भ्रम भयो, दुःख भयो,’उनले भने,‘अझ पहाडी क्षेत्रमा जनताले धेरै दुःख पाइराखेका छन् ।’

छोटो दुरीका गाडीहरु निर्वाध चल्न दिइनुपर्ने भनेर सरोकारवाला निकायहरुमा कुरा राखेको पनि श्रेष्ठले बताए । हिजो यातायात व्यवसायीहरुले सुनसरीका प्रमुख जिल्ला अधिकारी पोखरेलको स्वागत गर्दै यो बिषयमा पनि छलफल गरेका थिए । ‘सिडिओ साबलाई स्वागत गर्दै सुनसरीमा शान्ति सुव्यवस्थाबारे र लकडाउनपछिको यातायातलाई सहजीकरण कसरी गर्ने भनेर पनि छलफल भयो । हामीले जिल्लाभित्र मात्र सिमित गर्नु भएन भन्यौं,’श्रेष्ठले भने,‘उहाँले आवश्यक समन्वय गर्छु भन्नुभएको छ । सरकारको निर्णय पछि पनि यातायात व्यवस्था विभागका महानिर्देशक, क्षेत्रीय प्रहरीसँग पनि कुरा राख्यौं ।’