धरान: धरान उपमहानगरपालिका वडा न. २० र वडा नं ११ को सिमाना पर्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएको छ ।

निर्माण सम्पन्न भइसकेको पुललाई आज(शनिबार) सामान्य कार्यक्रम गरेर सञ्चालनमा ल्याइएको हो । पुल निर्माण सम्पन्न भइसके पनि उद्घाटन गर्न अझै समय लाग्ने भएको तर विष्णुपादुकाबासीहरुले बर्षाको बेला धेरै दुःख भोगिरहेकोले जनताको माग अनुसार आजदेखि पुल सञ्चालनमा ल्याइएको वडा नं २० का अध्यक्ष मणीराम राईले जानकारी दिए । विष्णुपादुकाबासीहरुले बर्षाको बेला पाउदै आएको समस्याबाट मुक्ति पाएको पनि उनले बताए । उनका अनुसार सर्दुले धेरैको तरकारी, सामान, मोटरसाइकलसमेत बगाउने गरेको थियो भने गाडी पनि फसेर हैरान बनाउथ्यो । ‘हिजो गाविस हुँदादेखि यहाँ पुलको आवश्यकता महसुस भएको थियो, अहिले पुरा भएको छ,’उनले भने,‘अबदेखि हामी धरानसँग जोडियौं, धरान २० लाई राहत दिएको छ ।’

sardu-bridge 1

यस्तै, वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले पनि धरानको वडा २० सँग मित्रता गाँस्ने अवसर मिलेको बताए । बर्षा लागेपछि वडा २० विद्यार्थीहरुलाई बगाउछ कि भन्ने चिन्ताबाट पनि मुक्ति पाएको उनले बताए । बषौंदेखि सर्दु खोलाको बाढीबाट आजित भएका धरानको वडा नं २० विष्णुपादकाबासीहरु पुल सञ्चालनमा आएपछि असाध्यै हर्षित भएका छन् । विष्णुपादुकाकी दुर्गामाया राईले अबदेखि खोलामा डुब्न नपर्ने भन्दै खुशी व्यक्त गरिन् । ‘बल्ल बल्ला पुलमा हिड्न पायौं, गाडी पनि हिड्न पायो,’उनले भनिन्,‘अब खोलामा डुब्न नपर्ने भयो, हाम्रो केटाकेटीहरु पनि धरान पढ्न सजिलै आउन सक्ने भए ।’

sardu-bridge6

साविक विष्णुपादुका गाविस धरान उपमहानगरपालिकामा समायोजन भएर उपमहानगर भइसकेको छ । तर, बर्षाको बेला सर्दुमा आउने बाढीले साविक धरानसँग आउजाउ टुट्ने गथ्र्यो । विष्णुपादुकाबासीहरु ज्यान जोखिममा पारेर नै खोला तर्ने गर्थे । विष्णुपादुका क्षेत्रका बासिन्दहरु शिक्षा, स्वास्थ्य, व्यापार गर्न धरान बजार क्षेत्र आउनुपर्ने बाध्यता छ । यो पुल बनेपछि धरान ११ मंगलबारे चोक हुदै विष्णुपादुकाको भञ्ज्याङ निस्कने बाटो जोडिएको छ । यो पुल स्वीस सरकारको सहयोगमा ८ करोड ३२ लाख लागतमा निर्माण भएको हो ।

sardu-bridge1 sardu-bridge2 sardu-bridge4 sardu-bridge8 sardu-bridge5 sardu-bridge9