धरान: हिजो साँझ मृत्यु भएका मोरङका कोरोना संक्रमितको शव १२ घण्टा बितिसक्दा पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ।

प्रदेश १ मा पहिलो संक्रमितको मृत्यु भएकोले शवको व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने निर्णयमा ढिलाई भएको हो । शवको व्यवस्थापन गर्ने जिम्मा सेनाको हो । तर, शवलाई कुन ठाउँमा व्यवस्थापन(अन्त्येष्टी) गर्ने भन्ने निर्णय जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसि)ले गर्नुपर्ने हुन्छ । यो बिषयमा मोरङको सिसिएमसि बैठक बस्ने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । ‘यो संवेदनशील बिषय हो । प्रोटोकल अनुसार शव व्यवस्थापन सेनाको जिम्मा हो, तर कहाँ गर्ने भनेर सिसिएमसिको बैठक बस्ने तयारी गर्दैछौं,’खड्काले भने,‘सेनासँग समन्वय भइरहेको छ ।’

हिजो पौने ५ बजे मोरङको सुनबर्षी नगरपालिका ८ का ४५ बर्षीय पुरुषको वीपी प्रतिष्ठानमा निधन भएको थियो । उनलाई दिउँसो १ बजे कोशी कोभिड १९ अस्पताल विराटनगरले सिकिस्त अवस्थामा धरान रिफर गरिदिएको थियो । आइसोलेसनमा भेन्टिलेटरमा राखेर उपचार भइरहदा उनको निधन भएको थियो । यसअघि पनि वीपीमा २ जनाको मृत्यु भएको थियो, तर उनीहरु दुवै प्रदेश नं २ का संक्रमित थिए ।

घर लैजाने परिवारको चाहना

मृतकका परिवारले भने शव घर लैजाने चाहना व्यक्त गरेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलका अनुसार परिवारले शव घरमा लैजाने चाहना राखेको प्रजिअ पोखरेलले बताए । ‘परिवारले घर लैजाने चाहना राखेका छन्,’ उनले भने,‘शव कहाँ अन्त्येष्टी गर्ने भनेर मोरङसँग समन्वय भइरहेको छ ।’