धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज पानै ५ बजे भेन्टिलेटरमा उपचाररत ४५ बर्षीय एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक व्यक्ति मोरङ जिल्लाका हुन् । उनी आज दिउँसो १ बजेतिर अत्यन्तै सिकिस्त अवस्थामा कोशी कोभिड १९ अस्पतालबाट आएका थिए ।

एम्बुलेन्स चालकको साथमा मात्र ल्याइएको ती विरामीलाई अस्पतालले समन्वय नगरी पठाएको प्रवक्ता एवं डाक्टर सापकोटाले जानकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ भने प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का हुन् ।