धरान: हिजो धरान १३ मा एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनी को हुन् ? भन्ने जिज्ञासा सर्वत्र थियो । कोभिड १९ को प्रोटोकल तथा आचारसंहिताको कारण संक्रमित स्वयम सार्वजनिक हुन नचाहेसम्म मिडियाले परिचय खुलाउन नमिल्ने भएकोले कतै पनि उनको पारीवारिक पृष्ठभुमी सार्वजनिक भएन ।

ती संक्रमित युवा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीका छोरा हुन् । एकै परिवार भएको कारण सभामुख भण्डारीमा पनि संक्रमण भएको हुनसक्ने आशंका हुने नै भयो । त्यसमाथि, सधै सभामुखसँग निकट रहने निजी सचिवालय, सुरक्षाकर्मीहरु पनि शंकास्पद व्यक्तिहरु भित्रै परे । छोराको रिपोर्ट पोजेटिभ आएपछि तत्काल सभामुख भण्डारीसहित निजी सचिवालय र सुरक्षाकर्मीसहित ८ जनाको हिजो(बुधबार) नै वीपी प्रतिष्ठानमा स्वाब संकलन भएको थियो । आज उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख भण्डारीका निजी सचिवालय स्रोतले भन्यो,‘सभामुख ज्युसहित हामी सचिवालय र सुरक्षाकर्मीसहित ८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।’ स्रोतका अनुसार हिजो परिचय खुलाउदा सभामुखसँग भेटघाट गर्ने मानिसहरुमा एककिसिमको त्रास फैलने भएकोले सार्वजनिक नगरिएको हो । छोराको नजिक सम्पर्कमा रहने बुबा(सभामुख)कै रिपोर्ट नेगेटिभ आएपछि सभामुखसँग भेटघाट गर्ने हरु चिन्तित नहुन उनले आग्रह गरे ।

सभामुख भण्डारीसँग प्रायः नियमित जसो राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरुको भेटघाट हुने गर्छ । कतिपय नेताहरु आफै होम क्वारेन्टाइनमा छन् । सभामुख भण्डारीको रिपोर्ट पोजेटिभ आएको भए थप कन्टक ट्रेसिंग गरेर सबैको स्वाब संकलन गर्नुपर्ने हुन्थ्यो । 

सभामुख भण्डारीका छोरा सि.ए. हुन् । उनी धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रको एक उद्योगमा कार्यरत थिए । त्यहाँ विराटनगर र जनकपुरबाट कामदार आएको र एकजनालाई ज्वारो पनि आएको थियो । तिनै व्यक्तिबाट सभामुखका छोरामा भाइरस सरेको हुनसक्ने अनुमान गरिएको छ । हलुका ज्वारो आएपछि सभामुखका छोरा आफै होम क्वारेन्टाइनमा बसेका थिए भने भोलीपल्ट(मंगलबार) स्वाब संकलन गरिएको थियो । उनको हिजो(बुधबार) रिपोर्ट पोजेटिभ आएपछि वीपीको आइसोलेसनमा लगिएको छ । ‘अहिले कुनै समस्या छैन, उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’सचिवालय स्रोतले भन्यो ।