धरान: धरान १३ का संक्रमित युवा नियमित जाने गरेको फिटनेस क्लब बन्द भएको छ ।

ती युवामा कोरोना संक्रमण पुष्टि भएपछि धरान ८, पुरानो ट्राफिक चोक (वीपी जाने धनकुटे रोड) मा सञ्चालित फिटनेस बन्द गरिएको हो । उक्त फिटनेसले हिजो आफ्नो फेसबुक पेजबाट कोभिड १९ को कारण केही समयको लागि फिटनेस बन्द गरिएको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पनि संक्रमित युवा फिटनेस जाने गरेको खुले पछि बन्द गराउन प्रहरी खटाएको बताए । ‘जिम हल बन्द गराउन प्रहरी खटाइसकेका छौं, र नाम पनि संकलन गरिरहेका छौं,’डिएसपी बस्नेतले भने।

उद्योगका सञ्चालक आफै सेल्फ आइसोलेसनमा

धरान १३ का संक्रमित युवा धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्व एण्ड फिटिंस् इण्डष्ट्रिज प्रालिको अडिट हेर्ने गर्छन् । उनी लकडाउन शुरु हुनुभन्दा अघिदेखि नै धरानबाहिर कतै गएका थिएनन् । उनलाई सोही उद्योगका बजार प्रतिनिधि(सेल्स मेन)बाट संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । उद्योगका सेल्समेनहरु जनकपुर, नेपालगञ्जलगायत धेरै ठाउँतिर मार्केटिङ र पैसा संकलनमा जाने गर्थे । तिनै मध्ये एक जनालाई ज्वरो पनि आएको थियो,र उनी धरान १३ का संक्रमित युवासँग सम्पर्कमा आएका थिए ।

संक्रमणको स्रोतकोरुपमा आशंका गरिएको उक्त उद्योग भने बन्द गरिएको छैन । यो उद्योग धरानका व्यवसायी अशोक अग्रवालको हो । उद्योगी अग्रवालले भने संक्रमित धरानका युवा र सेल्समेनहरु उद्योगमा जाने काम नपर्ने भएकोले उद्योग सिल गर्न आवश्यक नभएको दाबी गरेका छन् । उनको यही दाबीलाई आधारित भएर प्रहरी, प्रशासनले उद्योग बन्द नगराएको हो । उद्योग बन्द नगराए पनि सञ्चालक अग्रवाल भने आफै सेल्फ क्वारेन्टिनमा बसेका छन् । ‘म चै उनीसँग सम्पर्कमा थिएँ, त्यसैले सेल्फ आइसोलेसनमा छुँ । रिपोर्ट नआएसम्म बस्छुँ,’उनले भने,‘तर ती भाई, सेल्स मेनहरु उद्योगमा जाने कामै पर्दैन । सबै कुरा फोनबाट, इन्टरनेटबाटै हुन्छ । त्यसैले उद्योग बन्द गराउनु पदैन ।’

४ जनाको स्वाब संकलन

संक्रमणको स्रोतकोरुपमा आशंका गरिएका उद्योगका सेल्समेनसहित ४ जनाको स्वाब संकलन गरिएको छ । धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार संक्रमित युवा उद्योगमा नगएको भन्ने जानकारीको आधारमा उद्योग बन्द नगरिएको बताए । सुनसरीका प्रजिअ फडिन्द्रमणि पोखरेलले पनि कन्ट्याक ट्रेसिङको आधारमा उद्योगमा गएको भए सिल गर्न निर्देशन दिइएको बताए । ‘त्यहाँ गएको हो भने सिल गर्नुपर्छ तर त्यो कन्ट्याक ट्रेसिङको आधारमा हुन्छ,’उनले भने ।

धरानका मेयर तिलक राईले पनि उद्योग सञ्चालकसँग सम्पर्क गर्दा धरानका संक्रमित युवा र संक्रमणको स्रोत रहेको कर्मचारी उद्योगमा नगएको भन्ने जानकारी दिएको बताए । ‘म आफैले पनि बुझे, सञ्चालकले तिनकुनेमा वर्कसप हो, त्यहाँ कन्ट्याकमा छैन भनेका छन्,’मेयर राईले भने ।