धरान: उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न धरान शव वाहन चालकहरु सहमत भएका छन् ।

आज शुक्रबार धरान उपमहानगरपालिकामा भएको छलफल पछि शव वाहन चालकहरु संक्रमितको शव बोक्न सहमति जनाएका हुन् । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका मोरङका संक्रमित व्यक्तिको शव २४ घण्टासम्म लैजान नसके पछि शव वाहन व्यवस्थापनको बिषय चर्कोरुपमा उठेको थियो । हिजो बिहिबार धरानमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख(एसपी)सहितको बैठकमा पनि यो बिषयमा छलफल भएर शुक्रबार(आज) एम्बुलेन्स र शव वाहनसँग छलफल गर्ने निणय भएको थियो । सोही निर्णय अनुसार आज भएको छलफलमा शव वाहन चालकहरु संक्रमितको शव बोक्न सहमत भएका हुन् ।

धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार धरानमा ६ वटा शव वाहन रहेको छ । ती मध्ये कुनैलाई पनि संक्रमितको शव मात्र बोक्ने गाडीकोरुपमा भने नतोकिएको उनले बताए । ‘शव वहान चालकहरुले आवश्यक परेको बेला समन्वय गर्नुबित्तिकै आउछौं भनेर प्रतिवद्धता जनाएका छन्,’उनले भने,‘ शवलाई पुर्याएर फर्केपछि चालक क्वारेन्टिनमा बस्नुपर्छ, त्यो अवधिको सेवा सुविधा नगर र प्रदेश सरकारबाट व्यवस्था गर्ने निर्णय भएको छ ।’ चालकहरुलाई आवश्यक पर्ने पिपिई, मास्क, सेनिटाइजर लगायत पनि व्यवस्थापन गरिनेछ ।

ambulanc

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति एवं केन्द्रीय समिति सदस्य उमेश थापाका अनुसार धरानभित्रका कोही संक्रमित व्यक्तिको शव लैजानु पर्दा सबै व्यवस्थापन उपहानगरपालिकाले गर्ने भएको छ । तर, धरानबाहिरको शव लैजानु पर्दा चालकलाई क्वारेन्टिन अवधिको सेवा,सुविधालगायतको व्यवस्था प्रदेश सरकारबाट हुनेछ । ‘हिजोको छलफलमा सिडिओले पनि प्रदेश सरकारसँग पहल गर्छु भन्नु भएको थियो,’थापाले भने,‘निर्धारण गरिए वमोजिमको दररेटमा शव बोक्नुपर्छ भन्नेमा सहमति भयो ।’ संक्रमणको शंका गरिएका व्यक्तिलाई अस्पतालसम्म ल्याउन वा क्वारेन्टिनमा पुुर्याउन भने विगतदेखि नै एम्बुलेन्स वीपी प्रतिष्ठानमा तयारी अवस्थामा राखिने गरिएको छ ।