धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो(बुधबार) मृत्यु भएका मोरङका कोरोना संक्रमितको शव झण्डै २४ घण्टा पछि मात्र लगिएको छ ।

शव लैजानको लागि तत्काल शव वहानको व्यवस्था हुन नसक्दा आज करिब २४ घण्टा पछि मात्र वीपी प्रतिष्ठानबाट शव लगिएको हो । मोरङको सुनबर्षी नगरपालिकाका एक ४५ बर्षीय व्यक्तिको हिजो बुधबार पौने ५ बजे प्रतिष्ठानको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको थियो । भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएका उनको शव २४ घण्टासम्म पनि आइसोलेसनमा रहेको थियो ।

सुनसरीका सिडिओ फडिन्द्रमणी पोखरेलले संक्रमित शव बोक्ने डेडिकेटेड वहानको व्यवस्था समयमा नै नहुदा ढिलाई भएको बताए । उनले शववहानले संक्रमणबाट मृत्यु भएकाको शव बोक्न नमान्दा पनि समस्या भएको बताए । ‘विराटनगरबाट पठाइदिन्छौं भने, त्यहाँबाट पनि आउन ढिलाई भयो,’उनले भने । आज धरानमा भएको छलफलले शुक्रबार शववहानको बिषयमा छलफल गरेर ठोस निर्णय गर्ने र समस्या हल हुने उनले अपेक्षा व्यक्त गरे ।

मोरङका निमित्त सिडिओ ध्रुव खड्काले प्रदेशमा पहिलो घटना भएको र मोरङमा शववहान २ वटा मात्र हुँदा समस्या भएको बताए । मोरङमा भएको २ वटा शववहान पनि अन्यत्र गएको कारण तत्काल व्यवस्थापन हुन नसकेको उनको भनाई थियो । ‘आज मोरङकै शववहान पठाएर शव ल्याउदैछौं, सेनाले तोकिएको ठाउँमा व्यवस्थापन गर्छ,’उनले भने । प्रतिष्ठानबाट मृतकको शव लिएर गाडी मोरङ गइसकेको छ । शवलाई कुन ठाउँमा अन्त्येष्टी गर्ने भनेर निमित्त सिडिओले खुलाएनन् । ‘हामीले निर्णय गरिसकेका छौं, संवेदनशील बिषय भएकोले अहिले खुलाउन मिल्दैन,’उनले भने ।